सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

साउदीबाट फर्किएका १८ को लगेज एयरपोर्टमा चोरी

logage-in-nepal-airport

देशको प्रतिष्ठासँग जोडिएको अन्तराष्ट्रिय विमानस्थलभित्र चोरीका घटना बढ्दै जानुले अन्र्तराष्ट्रिय जगतमा नेपालको साख झन गिर्दै गएको छ । विदेशबाट फर्किएका यात्रुहरुको ताल्चा लगाएको लगेज नै फोरेर सामान चोरी हुने घटना बढ्दै गएपछी विमानस्थलको सुरक्षा व्यवस्थामाथी नै प्रश्न उठेको छ ।

एक हप्ता अघि मात्रै इण्डियन एयरमार्फत साउदी अरवबाट फर्केका बिश्वास पौडेलको सामान चोरिएको घटना सेलाउन नपाउदैं फेरी साउदीबाटै फर्केका १८ जना नेपालीको सामान विमानस्थलभित्रै चोरी भएको छ । पिडितहरूका अनुसार अधिकांशको मोबाइल, ल्यापटप, घडी सहित विदेशबाट ल्याएका महत्वपुर्ण सामग्रीहरू चोरी भएको छ ।

उनीहरूले शनिवार बिहान सामान बुझ्दा लगेज फोरीएको अवस्थामा पाएपछी आफूहरूको सामान चोरी भएको थाहा पाएको बताएका छन । कार्टुनभित्र प्याक गरी लगेजमा राखिएका सामान त्रिभुवन विमानस्थलमा चोरी भएको पिडीतहरुले आरोप लगाएका छन् । आफुहरुको सामान चोरी भएको बारे उजुरी गर्न जादाँ विमानस्थल व्यवस्थापन र सुरक्षाकर्मीले उल्टै धम्काएर फर्काएको उनिहरुको गुनासो छ ।

विमानस्थल सुरक्षामा खटिएको प्रहरीले भने सामान नेपालकै एयरपोर्टबाट चोरिएको भन्ने आरोपको खण्डन गरेको छ । साउदी अरबमा अबैध रुपमा बसेका उनिहरु प्रहरी हिरासतबाट सिधै नेपाल आएकाले सामान उतै छुटेको हुन सक्ने प्रहरी नायव महानिरिक्षक गोबिन्द निरौलाले बताउनुभएको छ ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले घटनाबारे थाहा पाउने बित्तिकै पीडित पक्ष, फ्लाइट दुबईका कर्मचारी र विमानस्थलमा खटिएका नेपाल एयरलाइन्सका कर्मचारीलाई बोलाएर अनुसन्धान थालिएको बताउनुभएको छ । घटनाको अनुसन्धान गर्नका लागि प्रवक्ता ठाकुरकै नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको छ ।

गोप्य स्रोतका अनुसार विमानस्थलको फितलो सुरक्षा व्यवस्थाको फाईदा उठाउँदै सम्बन्धित एयरलाईन्सले नेपाल आउने विमानमा संवेदनशिलता नदेखाउँदा यस्ता घटना नियमित हुने गरेको बताएका छन । नेपाल आउने विमानमा केही कमजोरी भईहाले पनि विमानस्थललाई दोष लगाएर उम्कन सकिने भएकाले उनिहरुले यस्ता विषयलाई गम्भिर रुपमा नलिने गरेको पाईएको छ ।

उसो त विमानस्थलकै कर्मचारी र सुरक्षामा खटिएकाहरुले लगेज चोरी गर्ने गरेका घटना यसअघि पनि सार्वजनिक हुँदै आईरहेका छन् । केहीदिन अघि मात्रै ड्रागन एयर हँुदै हाईटीबाट फर्केका एक प्रहरी उपरिक्षकको लगेज एयरपोर्टभित्रै फुटाईएको भन्दै उजुरी परेको थियो ।

अचम्म त के छ भने त्रिभुवन अन्र्तरष्ट्रिय विमानस्थलको अधिकांश ठाँउमा सिसी क्यामेरा जडान गरिएको छ । विमानबाट आउने सामान कण्टेनरबाट झार्ने र लगेज बुझ्ने ठाँउको दुरी पनि खासै टाढा छैन । यसका बापजुद पनि एकैपटक १८ जनाको लगेज फोरेर सामान चोरी हुनु विमानस्थलको सुरक्षा व्यवस्थामाथी गम्भिर चुनौती हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्