मिठाईमा फोहोर पानि र म्याद सकिएको मैदा
काठमाण्डौको न्युरोडमा रहेका मिठाइ पसलहरुमा कुहिएको पीठो, म्याद सकिएका खाद्य पदार्थ र फोहोर पानीको प्रयोग भइरहेको पाईएको छ । न्युरोडका तीन ओटा मिठाइ पसलमा गरिएको अनुगमनमा दुई मिठाई पसलको भान्सा तथा मिठाइ अन्यन्तै फोहोर भएको पाईएको छ ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने गरी मिठाइका परिकार बनाएर बिक्री वितरण गरिएको फेला परेको हो ।
अनुगमनको क्रममा टोलीले न्यूरोेडको गौतम स्वीट्स हाउसले मिठाइ बनाउन अत्यन्तै दुर्गन्धित पानीको प्रयोग गरेको फेला पारेको छ । टोलीले गौतम स्वीट्सलाई तीन दिनभित्र विभागमा स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने दुषित खाद्य वस्तु बिक्री वितरण गरेको अभियोगमा मुदा दर्ता गर्ने बताएको छ ।
अनुगमन टोलीमा सहभागी उपभोक्ताकर्मी माधव तिमिल्सिनाका अनुसार रामेश्वर स्वीट्स एण्ड चाट हाउसको भान्छा अत्यन्तै फोहोर पाईएको छ छ । त्यस्तै मिठाइमा प्रयोग हुने मैदा पनि म्याद सकिएको प्रयोग गरेको फेला परेको छ । सो पसललाई पनि विभागले तीन दिन भित्र स्पष्टीकरण पेश गर्ने निर्देशन दिएको छ ।
त्यसैगरी तिहारमा प्रयोग हुने भाइमसाला बिक्री गर्नेहरुले प्याक मात्रै आकर्षक गरेको तर लेभल नराखेको अनुगमनमा फेला परेको छ । आफूखुसी मुल्य तोक्ने गरेको फेला परेपछि विभागले त्यस्ता पसललाई तीन दिन भित्र भाइमसलाको तौल र मूल्यसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्