हिन्दु महासंघको बन्दसत्रमा कुटाकुट, केही घाईते
विश्व हिन्दु महासंघको बन्द सत्रमा पदाधिकारी चयन गर्ने विषयमा विवाद हुँदा प्रतिनिधिहरु बीच कुटाकुट भएको छ । बन्दसत्रमा सहभागी केहि प्रतिनिधिहरुले पूर्व अध्यक्ष भरतकेशरी शाह विरुद्ध हुटिङ गरेपछि तनाव सिर्जना भएको थियो ।
बन्दसत्रबाट भरतकेशरी शाहलाई नै पुनः सर्व सम्मत अध्यक्ष चयन गर्ने तयारी भएको थियो । असन्तुष्ट समुहले शाहलाई सर्वसम्मत बनाउने विषयमा जनाएको विरोधले उग्ररुप लिँदा झडप हुन पुगेको बन्दसत्रमा सहभागी एक प्रतिनिधिले बताएका छन् ।
एकजना व्यक्तिले ‘म पनि राजावादी हुँ, म कमल थापाको कार्यकर्ता हुँ भनेपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै गएपछि कुटाकुट भएको प्रत्यक्षदर्शीले बताए । झडपसँगै भएको कुटाकुटमा एकजना राप्रपा नेपालका कार्यकर्ता घाइते भएका छन् ।
महासम्मेलनकी सचिव तथा प्रवक्ता अस्मिता भण्डारीले भने प्रतिनिधि नै नरहेका केहि व्यक्तिहरु बन्दसत्र हलभित्र बसेर उपद्रो मच्चाएको बताएकी छिन । उनले बन्दसत्रबाट आजै भरतकेशरी शाहलाई अध्यक्षमा चयन गर्न लागिएको बताइन् ।
उता असन्तुष्ट समुहका यम भण्डारीले एकलौटी ढंगले अध्यक्षको घोषणा गर्न खोजेकाले विरोध गरेको बताएका छन । भण्डारीले पुर्व अध्यक्ष शाहलाई नै पुनः सर्वसम्मत बनाउने निर्णय आफूहरुलाई कुनै पनि हालतमा मान्य नहुने बताएका छन ।
झडपका क्रममा केहि व्यक्ति घाइते भएका छन् । बन्दसत्र स्थल कमलादीमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । महासम्मेलनको हिँजो बनकालीमा पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन गरेका थिए ।
आज नेतृत्व चयन गरी भोलि काठमाडौं घोषणापत्र जारी गर्दै महासम्मेलन सम्पन्न हुनेछ । आक्रोशित समूहले बन्दसत्रमा भारतीय जनता पार्टीका नेता तथा सांसद आदित्यनाथ विरुद्ध समेत नाराबाजी गरेका थिए । उनकै दवावमा सिंहलाई अध्यक्ष बनाउन खोजिएको बताइएको छ ।
महासंघभित्रका विशुद्ध हिन्दुवादी समूहले हिन्दु सम्मेलनको प्रयोग गरेर राजावादीहरुले राजतन्त्र फर्काउन खोजेको भन्दै विरोध गरिरहेका छन् । नेपालमा हिन्दु राष्ट्र र राजतन्त्र फरक विषय भएको तर राजावादीहरुले हिन्दुराष्ट्रकै आडमा राजतन्त्र फर्काउन खोजेको उनीहरुको आरोप छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्