पक्राउ पर्दै महरा, होला त ३ बर्ष जेल सजाय ?
बलात्कार आरोप लागेपछि पदबाट राजीनामा दिएका (निवर्तमान) सभामुख कृष्णबहादुर महराको राजनीतिक भविष्य सखाप भएको छ । अहिलेसम्म महराले बनाएको राजनीतिक व्यक्तित्व त भुकम्पले धरहरा ढलेझैँ गर्ल्यामगुर्लुम्मै ढलेको छ नै संगै उनको चरित्रमा पनि गम्भीर प्रश्न उठेको छ ।
सुरुमा महराले बलात्कार प्रयास गरेको आरोप लगाउने रोशनी शाहीले आफै प्रहरी कार्यालयमा गएर महराले आफुमाथी केही नगरेको भनी निवेदन दिँदा उनी कानुनी रुपमा आरोपबाट बच्छन कि भन्ने थियो तर फेरी अन्तिम समयमा रोशनीले बलात्कार प्रयासको किटानी जाहेरी नै दिएपछी अब प्रहरीको हिरासतमा बसेर न्यायालयसमक्ष आफूविरुद्ध लागेको आरोपको कानुनी प्रतिरक्षा गर्नु बाहेक अरु विकल्प महरासँग छैन ।
अर्थात, आफूलाई लगाइएको बलात्कार प्रयास आरोपको कानुनी प्रतिरक्षा गर्ने अधिकार उनीसँग सुरक्षित छ । सम्भवतः आज (आइतबार) अदालत खुलेपछि प्रहरीले उनलाई पक्राउ गर्ने सम्भावना छ । किनभने अब महरालाई पक्राउ नगर्नुपर्ने कुनै कारण प्रहरीसँग छैन ।
![Krishna Bahadur Mahara](https://everestwall.com/wp-content/uploads/2019/10/krishna-bahadur-mahara-1-1024x663.jpg)
यसअघि प्रहरीले ‘किटानी जाहेरी नपरेकाले पक्राउ गर्न नसकेको’ जवाफ दिने गरेको थियो । कानुनअनुसार हेर्दा प्रहरीले पहिले अदालतबाट पक्राउ पूर्जी लिनेछ । र, महरालाई पक्राउ गर्नेछ ।
महराविरुद्ध संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले आफूलाई बलात्कार प्रयास गरेको आरोप लगाएकी छन् । महरासँग पारिवारिक सम्बन्धमा रहेकी ती महिलाले शनिबार महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा किटानी जाहेरी दिएकी हुन् ।
यसअघि दुईवटा भिडियो अन्तर्वार्तामा उनले परस्पर विरोधी कुरा गरेकी थिइन् । पहिलो भिडियोमा उनले आफूलाई महराले बलात्कार गरेको दाबी गरेकी थिइन् । र, दोस्रो भिडियोमा महरा ‘बाबुसमान रहेको’ भन्दै महरामाथि लागेका सबै आरोपलाई ‘षड्यन्त्र’ भनेकी थिइन् ।
ती महिलाले नागरिकखबर अनलाइनबाट आफ्नो परिचयसहित परस्पर विरोधी बयान दिएपछि पहिलो भिडियो अन्तर्वार्ता सार्वजनिक गर्ने हाम्राकुरा अनलाइनले पहिले खिचिएको भिडियो सार्वजनिक गरेको थियो । तेस्रो भिडियोमा महरा र आफूबीच भएका च्याट, म्यासेजहरूलाई उनले आफूमाथि दुव्र्यवहार भएको पुष्टि गर्ने प्रमाणका रुपमा देखाएकी छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले महराविरुद्ध परेको उजुरीको “अनुसन्धानलाई तीव्र बनाएको“ बताएका छन् । प्रहरी सुरुदेखि नै यो घटनासँग जोडिएको छ ।
हाम्राकुराले गरेको भिडियो अन्तर्वार्तामा ती महिलाले आफू बलात्कृत भएको भन्दै प्रहरीलाई १०० मा फोन गरी जानकारी गराएपछि महरा आफ्नो कोठाबाट बाहिरिएको बताएकी छन् ।
ती महिलाले आफ्नो कोठा, फुटेको भनिएको चस्मा, मदिराको बोत्तल र ग्लास तथा जुत्ताको तलुवा लगायतका प्रमाण प्रहरीलाई देखाएको पहिलो भिडियोमा बताएकी थिइन् । अब प्रहरीसँग महरालाई पक्राउ गरी घटनाको अनुसन्धान गरी मुद्दा दायर गर्नेबाहेक अरु विकल्प छैन ।
कानुन के छ त व्यवस्था ?
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा यस सम्बन्धी कानुनी व्यवस्था छ । पीडित भनिएकी महिलाले शनिबार कसूरको जाहेरी दरखास्त दिएकी छन् । यसपछि प्रहरीले के गर्छ ?
प्रहरीले ‘कुनै कसूर भएको वा भइरहेको वा हुन लागेको छ भन्ने जानकारी वा सूचना वा सुराक पाई सुराक लिन गएका बखत वा आफ्नो उपस्थितिमा कुनै कसूर भएमा त्यस्तो कसूर गर्ने ब्यक्तिलाई तुरुन्त पक्राउ गर्नु पर्ने’ मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को व्यवस्था छ ।
पक्राउ गर्नुपूर्व प्रहरीले अदालतबाट पक्राउ पूर्जी लिनुपर्नेछ । जघन्य कसूर वा गम्भीर कसूर लागेका अभियुक्तलाई पक्राउ पूर्जी जारी गर्नुपर्ने व्यवस्था छ ।
कसूर प्रमाणित भए के हुन्छ त ?
अहिलेलाई महराले आफूलाई लगाइएको कसूर झेल्नेछन् । र, आफूलाई निर्दोष साबित गर्ने मौका पाउनेछन् । तर प्राप्त प्रमाणहरूका आधारमा दोषी ठहर भएमा उनले कैद सजाय भोग्नुपर्नेछ । जवर्जस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद हुने व्यवस्था छ ।
एउटा भिडियोमा महराले आफ्नो कोठामा आई बलात्कार गरेको र अर्को भिडियोमा कोठामा आउँदै नआएको बताएकी ती महिलाले उजुरी दिँदा भने ‘बलात्कार प्रयास गरेको’ भनेकी छन् ।
अपराध शास्त्रमा यसलाई अपूर्ण अपराध (ष्लअजयबतभ यााभलअभ) भनिन्छ । यो भनेको ‘अपराध पूरा नभएको तर प्रयास गरेको’ अवस्था हो । दफा ३४ मा यस्तो अवस्थामा आधा सजाय हुने व्यवस्था छ । बलात्कार कसूरमा ७ देखि १० वर्ष सजायँको व्यवस्था भएमा प्रयास गरेको अवस्था पुष्टि भएमा साढे ३ देखि ५ वर्ष सजायँ हुन सक्छ ।
महिलाको वासनाले गुमेको महराको राजनितिक छवि
महरालाई सभामुख पद छोड्न मन भने थिएन । पहिलोपटक उनले दिएको राजीनामा पत्र र दोस्रोपटक सुटुक्क दिएको राजीनामा पत्र हेर्दा त्यो थाहा हुन्छ । तर उनले राजीनामा नदिई सुखै पाएनन् । र, दोस्रोपटक उनले अघिल्लै दिनको मिति राखेर राजीनामा पत्र बुझाए ।
त्यसअघि सत्तारुढ नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमार्फत् गत मंगलबार नै राजीनामा दिन सुझाएका थिए ।
पीडित भनिएकी महिलाको मिडियामार्फत फेरिएको बयान र प्रहरीको अलमलले महरालाई नै क्षति र्पुयायो । घटना सार्वजनिक भएपछि महराले मिडियाहरूमा बोलेका कुरा, उनको सचिवालयले निकालेको विज्ञप्तिमा पनि कुराहरू बाझिइरहे ।
माओवादीको सशस्त्र युद्धअघि नै सांसद, युद्धकालमा नेतृत्वदायी भूमिका, शान्तिवार्ताको भूमिका, पटकपटक मन्त्री, उपप्रधानमन्त्री र प्रतिनिधिसभाको सभामुख । भद्र र शालिन व्यक्तित्व । उनको छवि यतिबेला सबै ध्वस्त भएको छ ।
आफूविरुद्ध लागेको आरोपको कानुनी उपचार खोज्नेबाहेक अरु विकल्प महराका लागि करिब अब अन्त्य भएको छ । र, महरालाई पक्राउ गर्नुबाहेक प्रहरीका लागि पनि अरु विकल्प सकिएको छ । सम्भवतः प्रहरी र महरा दुबैको विकल्प आज समाप्त हुनेछ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्