सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गरिबीले आफ्नै बच्चालाई भेटाएको भन्ने बनायो

bebarise-shishu-junglema-bhetiyako-pyuthanma

विजयसिंह भारती। गत आइतबार प्यूठानको जसपुर जंगलमा बेवारिसे अवस्थामा शिशु भेटाएको भन्दै एक महिलाले प्रहरीलाई जिम्मा लगाईन । एक महिनाको उक्त शिशु (बालक)लाई प्रहरीले वाल आवासगृहको जिम्मा लगायो । तर अनुसन्धान गर्दै जाँदा यस्तो रहस्य पत्ता लाग्यो जसले सबैलाई अचम्मीत बनायो ।

बेवारिसे शिशु भेटाएँ भन्दै प्युठानको बिजुलीकी सिर्जना थापाले प्रहरीलाई जिम्मा लगाएकी थिईन । अनुसन्धान गर्दै जाँदा पत्ता लाग्यो उक्त शिशु त सिर्जनाकै रहेछ । पाँच सन्तानकी आमा सिर्जनाले मजदुरी गरेर परिवार पाल्दै आएकी छन । उनका पति पनि भारतमा मजदुरी गर्छन ।

बर्षेनी बच्चाहरु जन्मँदा लालनपालनमा समस्या भएकाले भेटाएको भनेर नाटक गरेको सिर्जनाले प्रहरीलाई बयान दिईन । अर्काको घरमा मजदुरी गर्दै आएको बताउने सिर्जनाले घरपरिवार र माइतबाट समेत सहयोग नपाएको गुनासो गरेकी छिन ।

गरिवीका कारण झुटो बोलेरै भए पनि उनले आफ्नो शिशुलाई सुरक्षित गर्न खोजेको अनुसन्धानमा देखिएको छ । पाँच र दुई वर्षका दुई छोरी र एक महिने शिशु सहित सिर्जनालाई अहिले महिला तथा बालबालिका कार्यालयको दिवा आवास केन्द्र (सेफ हाउस)मा राखिएको छ ।

सिर्जनासँग मनोसामाजिक पराशर्म सहित अँझै सोधपुछ भैरहेको जिल्ला बालअधिकार अधिकृत यादप खनालले बताएका छन । आवश्यक कागजी प्रक्रिया पूरा गरी परिवारको रोहवरमा शिशुलाई आमाकै जिम्मा लगाउन सकिने सम्भावना रहेको छ ।

सबैलाई भ्रममा पार्ने गरी सिर्जनाले आफ्नै बच्चा भेटाएको भनि प्रहरीलाई जिम्मा लगाएको घटनाले सरोकारवालाहरुलाई अचम्मित बनाएको छ । गत आइतबार स्वर्गद्वारी माइतबाट फर्कंदै गर्दा जंगलमा शिशु भेटाएको भन्दै सिर्जना सोमवार विहान शिशुसहित प्रहरीकोमा पुगेकी थिइन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्