लोकमानलाई ईण्डिया लैजान डा.केसीको चेतावनी
प्रा. डा. गोविन्द केसीले कांग्रेस र छिमेकी मुलुक भारतलाई अख्तियार प्रमुख लोकमान कार्कीलाई संरक्षण गर्ने हो भने भारत नै लैजान आग्रह गरेका छन । डा.केसीले भने–‘नेपाल कसैको उपनिवेश होइन । भ्रष्टलाई यहाँ राखेर नेपाललाई चाकडी गराउन खोज्छ भने सह्य हुन सक्दैन । लोकमानलाई इण्डिया लिएर जाओस ।’
सोलिडारिटी फर डा. केसी एलाइन्सले लोकमान विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गर्न दबाव दिने उद्देश्यले गरेको सडक प्रदर्शन पछीको कोणसभामा बोल्दै डा. केसीले यस्तो बताएका हुन । कोणसभालाई सम्बोधन गर्दै डा. केसीले ढिलै भएपनि एमाले र माओवादीले लोकमान तन्त्रको अन्त्यका लागि महाअभियोग प्रस्ताव दर्ता गराएको भन्दै स्वगत गरेका छन ।
अख्तियार प्रमुख लोकमानले संविधानभन्दा माथि बसेर काम गरेको र लोकमान तन्त्र चलाएको भन्दै उनले पुष्पकमल दाहाल प्रचण्ड देखावटी प्रधानमन्त्री मात्र भएको बताएका छन । महाअभियोगको पक्षमा दह्रोसँग उभिन आग्रह गर्दै केसीले भने–‘प्रचण्डजी खुट्टा नकमाउनुस् । प्रधानमन्त्रीको पद भन्दा जनताको प्रिय प्रतिनिधि हुनु ठूलो कुरा हो ।’
महाअभियोगको पक्षमा उभिन आलटाल गरेको भन्दै डा. केसीले आफूलाई सबैभन्दा लोकतान्त्रिक भन्ने कांग्रेसले लोकमान तन्त्रको प्रार्थना गरिरहेको बताएका छन । कांग्रेसका धेरै सांसद लोकमान तन्त्र अन्त्य गर्ने पक्षमा उत्रिने आफूलाई विश्वास रहेको डा.केसीले बताएका छन ।
कांग्रेसका केही प्रभावशाली नेता मात्र लोकमानको पक्षमा रहेको भन्दै केसीले उनीहरु लोकमानसँगै सकिने चेतावनी दिएका छन । संसद लोकमानको दरवार नभई जनताको आस्था केन्द्र भएको बताउँदै केसीले भने–‘लोकमानका सिपाही संसदमाबस्नु पाप हुन्छ । लोकमानको अफिसमा जानुस, संसदमा आउन जरुरी छैन ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्