लागुऔषध तस्करी धरौटीमा छुटे, भरीयालाई जेल
औषधि बनाउने आवरणमा नेपाल भित्र्याएको सहायक रसायन स्युडोइफ्रिडिन तस्करीका मुख्य योजनाकार देखिएका रतनलाल संघाई धरौटीमा मुक्त भएका छन् । सोही प्रकरणमा जोडिएका अन्य ४ सहयोगीलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि जेल पठाएको छ । जेल पठाइएका मध्ये २ जना भरिया हुन् ।
कोल्ड ट्याब्लेट बनाउन २०७० देखी २०७३ सम्म नेपाल आयात गरेको १ अर्ब ९१ करोड बराबरको २ हजार २ सय किलो स्युडोइफ्रिडिन लागुऔषध बनाउन तस्करी गरेको आरोपमा प्रहरीले संघाई समूहका प्रमुख पवनसहित नौ जनामाथी अनुसन्धान गरेको थियो । अनुसन्धानमा संघाई दाजुभाई पवन र रतन मुख्य योजनाकार देखिएका थिए ।
सोमबार थुनछेकको बहस सकिएपछि जिल्ला अदालत ललितपुरले रतनलाललाई १२ लाख धरौटीमा छाड्ने आदेश दियो भने उनीसँगै पक्राउ परेका स्युडोइफ्रिडिन व्यवस्थापन गर्ने दिलिप पंडित, मोहित हलान र भरिया बद्रीप्रसाद बन र श्याम मोक्तान तामाङलाई भने अर्को आदेश नगरेसम्म कारागारमै राख्न आदेश दिएको छ । पवन लगायतका ४ जना भने फरार छन् ।
लागुऔषध नियन्त्रण ब्युरोले साउन १२ मा पण्डितलाई पक्राउ गरी अनुसन्धान गर्दा ललितपुरको प्लाष्टिक गोदाममा ४ सय ७२ किलो स्युडोइफ्रिडिन लुकाएको फेला पारेको थियो । अनुसन्धानको क्रममा संघाई समूहको आर्य फर्माले मगाएको सो रसायन डाइभर्सन गरी भारत र चीन तस्करी हुने गरेको खुलेपछि लागुऔषध अभियोगमा अुनसन्धान अगाडि बढाएको थियो ।
अनुसन्धान प्रारम्भ भए लगत्तै फरार रहेका पवन बाहिरै रहेर आर्थिक प्रभावमा मुद्धा मिलाउने प्रयासमा रहे पनि सो सार्वजनिक भएपछि उनी भागेर भारत पुगेका थिए । प्रहरीले तीन महिना अनुसन्धान गरी पवन र रतनलाई मुख्य योजनाकार ठहर्याउँदै लागुऔषधसँगै संगठित अपराध ऐन समेत लगाउन सिफारिस गरे पनि जिल्ला न्यायधिवक्ताको कार्यालय ललितपुरले भने तीन तहको कारोवारी र नौजनाको संलग्नतामा भएको घटना संगठित होइन भन्दै लागुऔषध ऐनमा मात्रै टेकेर अभियोग लगाएको थियो । यो बारे महान्यायधिवक्ताको कार्यालयले अनुसन्धान शुरु गरेको जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्