प्रचण्डलाई बालुवाटारमै गएर धम्काए अमरेशले
निलम्बित अवस्थामा रहेका अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई जोगाउन शक्ति केन्द्रहरु समेत सक्रिय बनेका छन् । यसै विषयमा कांग्रेसका सांसद अमरेशकुमारले भारतीय बुद्धिजीवी एसडी मुनीलाई बालुवाटारमै पु¥याएर प्रधानमन्त्रीलाई धम्की दिएका छन् ।
सांसद अमरेशकुमार सिंहले प्रचण्डलाई महाअभियोगको पक्षमा लागेर भारतसँग निहु नखोज्न धम्की दिएको बताईएको छ । नेपाल–भारत सम्वन्धबारे एक छलफलमा सहभागी हुन यसै साता एसडी मुनि नेपाल आएका थिए ।
यहीबेला सत्तारुढ माओवादी र प्रमुख विपक्षी एमालेका १५७ सांसदले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । महाअभियोग दर्ता भए लगत्तै सांसद अमरेश एसडी मुनीसँगै बालुवाटार पुगेका थिए ।
भेटमा अमरेशले प्रचण्डलाई ‘धोकेबाज’सम्म भनेको स्रोतले बताएको छ । साथै अमरेशले माओवादी लडाकूहरुले चिनियाँ पैसा खाएर लोकमानविरुद्ध महाअभियोगको प्रस्ताव पेश गरेको भन्दै प्रचण्डसँग ‘अब भारत रिसायो’ भनेर धम्काएको बुझिएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई महाअभियोगको पक्षमा नउभिन केही भारतीय नेता एवं कूटनीतिज्ञबाट समेत दबाव परेको स्रोतको दाबी छ । कार्कीलाई जोगाउन अमरेश लगायतका कांग्रेसकै नेताहरु लागिपरेका छन् । यसमा केही भारतीय कूटनीतिज्ञहरुको पनि चासो देखिएको छ ।
माओवादी उच्च स्रोतका अनुसार एसडी मुनीलाई लिएर बालुवाटार पुगेका कांग्रेस सांसद अमरेशले प्रधानमन्त्री प्रचण्डलाई ‘भारतले यो अन्तिम पटक विश्वास गरेको थियो, अब कहिल्यै गरिन्न,’ भन्दै धम्क्याएका छन् ।
अमरेशले एसडी मुनीलाई लिएर बालुवाटार गएको स्वीकार गरे पनि लोकमान प्रकरणमा आफ्नो कुुनै धारणा र चासो नरहेको भन्दै पन्छिएका छन । उनले लोकमान प्रकरणबारे पार्टीले जे निर्णय गर्छ, त्यसलाई आफूले स्वीकार गर्ने बताएका छन् । कार्कीलाई अख्तियार प्रमुख बनाउन मुख्य भुमिका खेलेका अमरेशले उनलाई जोगाउन दबाव दिनु कुनै अनौठो बिषय भने होईन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्