लक्ष्मी पुजा गर्दा दरिद्रकी देवीलाई पनि पुजौँ
दिपावलीलाई लक्ष्मी देवीको पूजा गर्ने पर्वका रुपमा चिनिन्छ । आजको दिन लक्ष्मीमाताको धुमधामका साथ पूजा गरिन्छ । तर, धनकी देवी लक्ष्मीको पूजा गर्दा उनकै जुम्ल्याहा दिदी दरिद्रकी देवीलाई कसैले पूजा गर्नु त परै जाओस, धेरै मानिसहरुले चिनेकासम्म छैनन् ।
लक्ष्मीको सुन्दर रुप र स्वभावबारे त सबैलाई थाहा छ तर, उनकी जुम्ल्याहा दिदी अलक्ष्मीबारे भने कमैलाई थाहा होला । लक्ष्मीकै छेउमा उनकी जुम्ल्याहा दिदी अलक्ष्मी पनि बस्छिन । वैष्णव साहित्यमा नांगोलाई अलक्ष्मीसँग जोडेर उल्लेख गरिएको छ जुन दुर्भाग्य र दरिद्रकी देवी हुन् ।
लक्ष्मीसँग जोडिएका विभिन्न किसिमका मिथकहरु प्रचलित छन् । रातो बस्त्रमा सजिएकी, कमलको फूलमाथि बसेकी, सुन र अन्नले भरिएको भाँडो हातमा लिएकी लक्ष्मीलाई सुख, समृद्धि र शक्तिको देवीको रुपमा लिइन्छ । उनी बलवान र चञ्चल छिन । त्यसैले उनलाई आफ्नो साथमा राखिराख्न कडा संघर्ष गर्नुपर्छ ।
जसरी कुनै पनि राम्रो चिज बनाउने क्रममा फोहर निस्कन्छ, त्यस्तै हो अलक्ष्मी पनि । बासुकी नागको सहायताले समुद्र मन्थनको क्रममा लक्ष्मी प्रकट भइन । लक्ष्मीसँग फोहोर चिज पनि निस्कियो । सबैले लक्ष्मीलाई स्वीकार गरे । तर, फोहोर चिजलाई स्वीकार गरेनन् ।
त्यो फोहोर चिजले अनिष्ट हुने संकेत पाएर शिवले खाइदिए । शिवले खाएको फोहर चिज भनेको कालकुट विष थियो । विषलाई खाएर घाँटीमै रोकेर राखेका शिवलाई नीलकण्ठ नामले पुकार्न थालियो ।
लक्ष्मी घरभित्र सुन्दर, अलक्ष्मी घर बाहिर !
प्रचलित मान्यता र मिथकका अनुसार जसले यी दुबै जुम्लाहाको वास्ता गर्दैन, ऊ खतरा मोलिरहेको हुनेछ । किनकि अलक्ष्मी दुःखकी देवी हुन् । मान्यता के छ भने जबसम्म अलक्ष्मीलाई स्वीकार गरिँदैन, तबसम्म भाग्यले पनि साथ दिँदैन ।
एक कथाका अनुसार लक्ष्मी र अलक्ष्मी दुबैले एक व्यापारीलाई हामी दुईमध्ये धेरै सुन्दर को छ भनेर सोधेछन । व्यापारीलाई थाहा थियो कि कसैलाई पनि दुःखी बनाउनु हुँदैन । यो सोचेर व्यापारीले भन्यो, ‘लक्ष्मी घरभित्र सुन्दर देखिन्छिन र अलक्ष्मी घर बाहिर नै सुन्दर देखिन्छिन् ।’ व्यापारीको यो जवाफले दुबै प्रशन्न भए र व्यापारीमाथि कृपा गरे । त्यसैले भन्ने गरिन्छ–‘व्यापारीहरुलाई सधैं लक्ष्मीको कृपा रहिरन्छ ।’
बहिनीलाई मिठाई, दिदीलाई निबुवा !
लक्ष्मीको सम्बन्ध मिष्ठान्नसँग पनि सम्बन्धित छ । जब कि अलक्ष्मीको सम्बन्ध अमिलो, पिरो र टर्रो चिजसँग सम्बन्धित छ । यसै कारण मिठाईलाई घरभित्र राखिन्छ भने निबुवा र खुर्सानी घर बाहिर झुण्ड्याएर राखिएको देखिन्छ ।
मान्यता के छ भने लक्ष्मी मिठाई खान घरभित्र आउँछिन भने अलक्ष्मी ढोका बाहिर झुण्ड्याइएको निबुवा र खुर्सानीबाट सन्तुष्ट भएर फर्किन्छिन् । हामीबाट लक्ष्मी र अलक्ष्मी दुबैलाई स्वीकार गरिन्छ, तर स्वागत भने एकको मात्र हुन्छ ।
लक्ष्मीका रुप
लक्ष्मीका दुई रुप हुन्छन, भूदेवी र श्रीदेवी । भूदेवी धरतीको देवी हुन भने श्रीदेवी स्वर्गकी । भूदेवी उर्बरासँग जोडिएकी छन भने श्रीदेवी महिमा र शक्तिसँग । भूदेवीले सुन र अन्नको वर्षा गराइदिन्छिन भने श्रीदेवीले शक्ति, समृद्धि र पहिचान दिन्छिन् भन्ने धार्मिक विश्वास छ ।
भूदेवी सरल र सहयोगी पत्नी हुन जो अफ्नो पति विष्णुको सेवा गर्दछिन् । तर, श्रीदेवी चञ्चल छिन् । उनलाई सधैं खुसी राख्न विष्णुलाई प्रयास गरिरहनपर्दछ । यदि विष्णु राजा हुन भने भूदेवी साम्राज्य र श्रीदेवी उनको मुकुट तथा राजगद्दी हुन् ।
अलक्ष्मीको मिथक
पौराणिक कथनअनुसार लक्ष्मीकी दिदी अलक्ष्मी वृद्धा थिइन । उनका केश कैला थिए । आँखा राता र मुख कालो थियो । देउताले उनलाई बरदान दिए कि जुन घरमा कलह हुन्छ, तिमी त्यहीँ बास होस । हड्डी, कोइला, केश आदिमा बास गर । कठोर असत्यवादी, हातमुख नधोई सन्ध्याका समयमा भोजन गर्ने एवं अभक्षहरुलाई तिमी दरिद्र बनाइदेऊ ।
मिथक अनुसार विष्णुले लक्ष्मीलाई बिहे गर्नुभन्दा पहिले दिदीको बिहे गर्नुपर्ने भयो । पद्मपुराण ब्रम्हखण्ड अनुसार उद्दालक ऋषिसँग उनको बिहे भयो । तर, लिंग पुराण अनुसार अलक्ष्मीको विवाह दुःसह नामक ब्राम्हणसँग भयो । दुःसह पाताल तिर गएपछि उनी एक्लै रहिन ।
कात्तिक माहत्म्यमा लेखिएको छ कि पतिद्वारा परित्यक्त भएपछि उनी पिपलको रुखमुनि बस्न थालिन । त्यहीँ हरेक शनिबार लक्ष्मी आफ्नी दिदीसँग भेट गर्न आउँछिन भन्ने मान्यता छ । शनिबार बाहेक अरु दिन पिपललाई छोएमा दरिद्र लाग्छ भन्ने धार्मिक विश्वास छ । त्यसैले शनिबारको दिन नै पिपलमा जल चढाउने गरिन्छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्