सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आफ्नो सुविधा आफै यसरी बढाए सांसदले

आइतबारको संसद बैठकले सुविधा सम्बन्धी विधेयक छोटो प्रक्रियाबाट पारित गरी संसदका पदाधिकारी तथा सदस्यको सुविधा ह्वात्तै बढाएको छ । संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पारित गर्दै संसद बैठकले सांसदहरूको घरभाडा, बैठक भत्ता, यातायात सुविधा र भ्रमणभत्ता वृद्धि गरेको हो ।

पारित विधेयकअनुसार सांसदहरूले आवास सुविधाबापत मासिक १८ हजार, सञ्चार सुविधाबापत ३ हजार, धारा बिजुलीका लागि २ हजार पाउने छन । यसअघि २०५२ को ऐनअनुसार मासिक ६ हजार ५ सय घरभाडा, टेलिफोनको २ हजार, पत्रपत्रिकाका लागि ३ सय र धारा बिजुलीको १ हजार २ सय ४८ रुपैयाँ मात्रै पाउँथे ।

उनीहरूले पाउने मासिक विशेष भत्ता एक हजार र अतिथि सत्कार खर्च मासिक एक हजार र फर्निचरका लागि एकमुष्ट १५ हजार रुपैयाँ र एक जना स्वकीय सचिव (शाखा अधिकृतस्तरको) को सुविधा यथावत् छ । नयाँ व्यवस्थाअनुसार सांसदहरूले दैनिक एक हजार रुपैयाँ बैठक भत्ता र अर्को एक हजार रुपैयाँ यातायात खर्च पाउने छन् ।

बैठक बसेको दिनमा मात्रै पाउने यस्तो भत्ता समिति, उपसमिति र पूर्ण बैठक जतिवटा बसे पनि दिनको एउटाको मात्रै गणना हुन्छ । यसअघि उनीहरूले दैनिक दुई सय रुपैयाँ बैठक भत्ता र एक सय पचास रुपैयाँ यातायात खर्च पाउँदै आएका थिए ।

ऐनमा उल्लेख नभए पनि संसद व्यवस्थापनको निर्णयअनुसार कार्यालय समयभन्दा अघि वा पछि बैठक बसेको अवस्थामा भने प्रतिछाक ४ सय रुपैयाँका दरले खाजा भत्ता पाउँछन । दैनिक ६ सय ५० रुपैयाँ खाजा भत्ता पाउने संसद सचिवालयका कर्मचारीले सार्वजनिक बिदाको दिन कार्यालयमा हाजिर गर्दा थप एक सय रुपैयाँ लिन्छन ।

samsad-subidha-cartoon

संयुक्त संशोधनमार्फत पैदल भ्रमणको प्रतिकोस २५ रुपैयाँका दरले पाउने भ्रमणभत्ता सम्बन्धी प्रावधान भने खारेज गरिएको छ । अब सांसदहरूले दैनिक २ हजार ५ सयका दरले भ्रमणभत्ता पाउनेछन । विधेयकले सांसदलाई १० लाख रुपैयाँ बराबरको यात्रा बिमा सुनिश्चित गरेको छ ।

कार्यकालभित्रै सांसदको निधन भए परिवारले दुई लाख रुपैयाँ र अशक्त भए ५० हजार रुपैयाँ एकमुष्ट आर्थिक सहायता पाउने व्यवस्था गरिएको छ । संशोधनकर्ता सांसदहरूले यस्तो सुविधा पनि दोब्बर बनाउने प्रस्ताव गरेका थिए ।

बजेट भाषण अघिसम्म ४४ हजार मासिक पारिश्रमिक पाउँदै आएका सांसदले कर्मचारीको तलब वृद्धि (सुरु स्केलमा २५ प्रतिशत) कै अनुपातमा हुन आउने रकम बुझदै आएका थिए । सरकारले बजेटमा सांसदहरूको घरभाडा वृद्धि गर्ने घोषणा गरे पनि कति भन्ने निर्णय गरेको थिएन ।

सांसदको सुविधा पुनरावलोकन सिफारिसका लागि गठित प्रमुख दलका मुख्य सचेतकहरू संलग्न समितिले आवास सुविधाका लागि मासिक २३ हजार ७ सय र दैनिक बैठक भत्ता १ हजार ५ सय र यातायात खर्च एक हजार पु¥याउन सुझाव दिएको थियो ।

यस्ता छन सांसदलाई सुविधा

मासिक पारिश्रमिक रु. ५५,२३०
आवास सुविधा रु. १८,०००
सञ्चार रु. ३,०००
धारा बिजुली रु. २,०००
विशेष भत्ता रु. १,०००
अतिथि सत्कार रु. १,०००
बैठक भत्ता दैनिक रु. १,०००
यातायात दैनिक रु. १,०००
दैनिक भ्रमण भत्ता रु. २,५००
यात्रा बिमा दस लाख
फर्निचर वार्षिक रु. १५,०००
स्वकीय सचिव एक (शाखा अधिकृतस्तर)
दस सिट हुने सबै दलका प्रमुख सचेतकलाई गाडी

फेसबुकबाट कमेन्ट गर्नुहोस्