सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

काठमाण्डौका युवतीको ‘ब्ल्याकमेलिङ’मा पर्नुहोला !

युवती परिचालन गरी नाटकीय रूपमा अपहरण गर्ने र बलात्कार मुद्दामा फसाउने भन्दै ‘ब्ल्याकमेलिङ’ गरेर पैसा उठाउने गिरोह राजधानीमा सक्रिय रहेको खुल्न आएको छ । गिरोहका दुईजना कुमारनन्द खड्का र नवीनकुमार राईलाई प्रहरीले पक्राउ गरेपछी यो रहस्य खुलेको हो ।

उनीहरूले सिन्धुलीका व्यवसायी रमेश कुँवरलाई अपहरण गरी धनमाल लुट्नुका साथै फिरौती लिएर छाडिदिएका छन् । कुँवरलाई ४ पुसमा युवतीकै काठमाडौंको सुकेधारास्थित डेरामा बन्धक बनाई १२ लाख चेक लिएर छाडिएको थियो ।

पक्राउ परेका खड्का र राईलाई अपहरण तथा शरीर बन्धक मुद्दामा कारबाही अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी गोविन्द पुरीले बताए । गिरोहका युवतीसहित नाइके भने फरार छन् । घटनाको तीन सातापछि पुस २९ मा दुईजना पक्राउ परेका हुन ।

पक्राउ परेका खड्का र राई प्रहरी बनेर धम्क्याउने व्यक्ति हुन् । प्रहरीका अनुसार व्यवसायी कुँवरसँग प्रेमको नाटक गरी युवतीले महाराजगन्ज स्थित आफ्नो डेरामा लिएर गएकी थिइन् । डेरामा पुगेपछि उनले आफ्ना सहयोगीहरू बोलाई बलात्कार गरेको बताएकी थिइन् ।

प्रहरीलाई खबर गरी बलात्कार मुद्दामा फसाइदिने भन्दै उनीहरूले ब्ल्याकमेलिङ गरेका थिए । कोठामै बन्धक बनाई पैसा दिए प्रहरीमा उजुरी नदिने भन्दै फिरौती माग्न थालेका थिए । खड्का र राई आफूहरू प्रहरी भएको भन्दै कोठामा गएर उनलाई थप धम्क्याएका थिए ।

कुँवरसँग भएको नगद, मोबाइल, सुनको सिक्री लुटेपछि १२ लाख रुपैयाँ दिने सर्तमा उनलाई कोठाबाट मुक्त गरिएको थियो । मुक्त भएपछि कुँवरले आफूलाई योजनाबद्ध रूपमा फसाइएको भन्दै उजुरी दिएका छन् । ‘सो गिरोहले धेरैजनालाई फसाइसकेको बुझिएको छ,’ महाराजगन्ज वृत्तका डिएसपी पुरीले भने, ‘अन्य पीडितहरू पनि सम्पर्कमा आएका छन ।’

पेसेवर रूपमा नै सो समूहले व्यवसायी तथा पैसावाल व्यक्तिहरू खोज्ने, सुन्दर युवतीहरू खटाएर प्रेमको नाटक गर्न लगाउने र सम्बन्ध राख्नका लागि भनेर कोठामा लिएर जाने र त्यसपछि बलात्कार गरेको भन्दै पैसा माग्ने गरेको प्रहरीले जनाएको छ । सो समूहबाट एक सरकारी कर्मचारीसमेत पीडित भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्