सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

केटाका लागी प्रहरी कार्यालयमै आत्महत्या प्रयास

आफूले प्रेम गरेका युवकसित छुटाएको भन्दै एक किशोरीले मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरी भित्रै विष सेवन गरी आत्महत्याको प्रयास गरेकी छन् ।

विष सेवनबाट गम्भिर उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

सप्तरीको शम्भुनाथ नगरपालिका–१० की १७ वर्षीया ती किशोरीले आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालयका निरिक्षक विजय श्रेष्ठले जानकारी दिएका छन ।

लामो समयदेखि प्रेम सम्बन्ध रहेका दिपु नामका स्थानिय १८ वर्षीय युवकसित एकसाता अघि भागेपछि खोजीमा सक्रिय युवाका परिवारले सोमबार राजधानीबाट उनलाई राजविराज ल्याएको थियो ।

मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा दुवैका अभिभावकलाई राखेर छलफल गरी उमेर नपुगेकाले दुवैलाई अभिभावकको जिम्मा लगाउने बित्तिकै किशोरीले पिसाब लागेको भन्दै प्रहरी कार्यालयको शौचालयमा गएर नाम खुल्न नसकेको विष सेवन गरेकी थिइन् ।

उक्त विष उनले प्रहरी कार्यालय प्रवेश गर्दा सँगै ल्याएको प्रहरीले जनाएको छ । प्रहरी निरिक्षक श्रेष्ठले भने–‘केटाकेटीलाई आ–आफना अभिभावकको जिम्मा लगाउने बितिकै किशोरीले विष सेवन गरिन ।’

विष सेवन गरेकी किशोरीलाई प्रहरीले तत्कालै गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज पु¥याएको थियो । प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई धरान पठाईएको प्रहरी निरिक्षक श्रेष्ठले जनाएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्