नेपाललाई हेपेर दशगजामा गुम्वा बनाउँदै भारत
भारतीय पक्षले इलामको पशुपतिनगर ४ फाटक र भारतको राङवाङ ग्राम पञ्चायतबीच रहेको दसगजा क्षेत्रमा गुम्बा मर्मत भन्दै धमाधम नयाँ पक्की गुम्बा बनाउन थालेपछि नेपाल सरकारले काम रोक्न गरेको आग्रहलाई भारतीय पक्षले बेवास्ता गरेको छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगानाले गुम्बा निर्माणको खबर आएपछि भारतीय पक्षसँग पत्राचार गरेर काम रोक्न आग्रह गरेको जानकारी दिए । पशुपतिनगरका अगुवा मिलन क्षेत्रीले भारतले आश्वासन दिए पनि काम नरोकिएको बताएका छन ।
एक महिनाअघि काम सुरु भएपछि स्थानीय प्रशासनलाई जानकारी गराए पनि कुनै पहल नभएको गुनासो क्षेत्रीले गरेका छन । सहसचिव ढुंगानाले भने सीडीओसँग गुम्बा निर्माण रोक्न पहलका लागि आग्रह गरेका छन् ।
सहसचिव ढुंगानाले सीमाक्षेत्रमा सीमा निर्धारण टोली खटिएको अवस्थामा दसगजामा काम हुनु गलत भएको बताए । सीमा प्रशासन कार्यालय पशुपतिनगरका प्रमुख मोहन पनेरूले पछिल्लो अवस्थाबारे माथिल्लो निकायलाई जानकारी गराएको बताएका छन ।
स्थानीय स्तरमा के गर्ने भनेर माथिल्लो निकायबाट कुनै जानकारी नआएको उनले बताए । भारतीय पक्षले भने भारतको स्थानीय प्रशासनले आग्रह नगरेसम्म काम नरोक्ने जवाफ दिने गरेको पनेरूले बताएका छन ।
भारतीय पक्षले दुई महिनाअघि गुम्बा निर्माण थाल्ने तयारी गरेपछि नेपाली पक्षले दसगजामा निर्माणकार्य नगर्न गरेको आग्रह विपरीत एक महिनाअघि पूजा गरेर निर्माणको काम सुरु गरेको थियो ।
सीमा प्रशासन कार्यालय पशुपतिनगरका प्रमुख पनेरूले १४ वटा पक्की पिलर लगाएर गुम्वा निर्माण गर्न लागिएको जानकारी दिएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्