सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

सम्पती र यौन सम्बन्ध लुकाउन श्रीमानको हत्या

सशस्त्र समुहसँग मिलेर श्रीमानको हत्या गरेको अभियोगमा महोत्तरी प्रहरीले मृतककी पत्नी सहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले महोत्तरीको हतिसर्वा–८ सङ्ग्रामपुर बस्ने २५ वर्षीय अञ्जनीकुमार मिश्रको हत्या गरेको अभियोगमा उनिहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले मिश्रको हत्यामा संलग्न हतिसर्वा–८ बस्ने मृतककी पत्नी २२ वर्षीया ज्योती मिश्र, धर्मपुर–६ का ३१ वर्षीय फिरोज कवारी, धमौरा–१ का ३७ वर्षीय तुफान नट अन्सारी, बगडा–७ का ४४ वर्षीय गङ्गाराम दास र महोत्तरी गाविस–७ का २९ वर्षीय कुवेर राउतलाई सार्वजनिक गरेको हो ।

हत्याको छानबिन गर्न प्रहरीको विशेष टोलीले स्थानीयवासीको सहयोगमा उनीहरुलाई घरबाट पक्राउ गरी हत्या भएको १० दिनपछि सार्वजनिक गरेको हो । उनीहरु विरुद्ध कर्तव्यज्यान मुद्दा चलाईएको छ । हत्यामा संलग्न ज्योती मृतक अन्जनीकुमारकी कान्छी श्रीमती हुन भने कुवेर काका ससुरा हुन ।

फिरोज र तूफान सशस्त्र समुह जनतान्त्रिक तराई मुक्तिमोर्चा, ज्वाला समूहमा सक्रीय रही अपहरण, लुटपाट, चन्दा आतङ्क र हत्या गर्ने किलरका रुपमा सक्रीय व्यक्ति हुन । प्रहरी निरीक्षक रवीन्द्र खनालका अनुसार हत्याको प्रमुख कारण यौनसम्बन्ध र सम्पत्ति रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

वैदेशिक रोजगारीबाट तीन महिनाअघि मात्र घर फर्केका मिश्रको नाममा पाँच बिघा जग्गा रहेको छ । मिश्रलाई गत पुस २९ गते शुक्रबार राति ८ बजे उनीहरुले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS