अल्ट्राधावक मिरा बनिन ‘बर्षकै साहसी व्यक्ति’
विश्वप्रसिद्ध टेलिभिजन च्यानल नेशनल जोग्राफीको एड्भन्चर अफ दी इयर २०१७ मा अल्ट्रा म्याराथन धाविका मिरा राई विजयी भएकी छन् । विश्वका दश असाधारण साहसिक सफलता प्राप्त गर्ने साहसीहरुको सूचिमा उनी अनलाईन भोटिङ्ग मार्फत पहिलो भएको नेशनल जोग्राफीले जनाएको छ ।
विश्व अल्ट्रा म्याराथनमा आफूलाई स्थापित गर्दै आएकी नेपाली धाविका मीरा राई नेसनल जोग्राफिले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर अफ द इयर) भएकी हुन् । नेसनल जोग्राफिले राईसहित १० जनालाई मनोनयनमा पारेको थियो ।
बाह्र वर्षदेखि सञ्चालन हुँदै आएको यो प्रतिस्पर्धामा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूको नाम छनौट गरिन्छ । छनौटमा परेका व्यक्तिलाई नेसनल जोग्राफिको वेबसाइट मार्फत् भोट गर्न सक्ने व्यवस्था थियो ।
सर्वाधिक भोट ल्याउने राई यस वर्षको साहसिक व्यक्ति भएकी हुन् । भोजपुरकी मीरा किशोरी अवस्थामा माओवादी लडाकु बनेकी थिइन् । माओवादी शान्ति प्रक्रियामा आएपछि भएको सेना समायोजनका क्रममा उनी अयोग्य ठहरिएकी थिइन ।
मीरा गत वर्ष फ्रान्समा सम्पन्न ८० किलोमिटरको विश्व म्याराथनमा पूर्व विजेतालाई पन्छाउँदै पहिलो भएकी थिइन । उनी १२ घन्टा ३२ मिनेट १२ सेकेन्डमा उक्त दौड पूरा गर्दै पहिलो पटक विश्व च्याम्पियन बनेकी हुन । अल्ट्रा म्याराथनलाई खेलकुदको कुनै पनि उच्च निकाय र एथ्लेटिक संघले समेत बेवास्ता गर्दै आएको छ ।
खेलाडीले आफ्नै लगानी र विभिन्न व्यक्तिको सहारा लिनुपर्ने बाध्यता नेपाली खेलकुदमा छ । विश्व एथ्लेटिक महासंघले सम्बन्धित देशको एथ्लेटिक संघले नै अल्ट्रा म्याराथन व्यवस्थापन गर्नुपर्ने भने पनि नेपालमा हालसम्म यसतर्फ काम भएको छैन ।
विगत दुई वर्षमा सफलता हात पार्दै मीरा केही समयअघि मात्र विश्वको दोस्रो स्थानमा उक्लेकी थिइन । उनी हङकङमा ५० किलोमिटरको एसियन च्याम्पियन, सन् २०१४ मा इटालीमा ५७ र नर्वेमा ८० किलोमिटरको अल्ट्रा म्याराथन च्याम्पियन रहेकी छन ।
त्यस्तै, ४५ किलोमिटरको स्काई रनिङ वल्र्ड सिरिजमा नर्वेकी पूर्व च्याम्पियन इमेलिई फोर्सवर्गभन्दा केही समयले पछि पर्दै दोस्रो स्थानमा परेकी थिइन । त्यही प्रतियोगितामा दोस्रो स्थान हाँसिल गरेपछि नै उनको लोकप्रियता चुलिएको हो ।
राष्ट्रियस्तरमा पनि उनी खेल सुरु गरेको छ महिनामै राष्ट्रिय च्याम्पियन बनेकी थिइन । मीराको बाल्यकाल भोजपुरको गाउँमै बितेको थियो । गाईबस्तु चराउने र खेतीपातीमै बाल्यकाल बिताएको स्मरण गर्दै मीराले नेसनल ज्योग्राफिले लिएको अन्र्तवार्तामा भनेकी छिन–‘गाउँमा केटीहरूका लागि कुनै अवसर थिएन । पढ्ने–लेख्ने समय पनि हामी निकै कम पाउँथ्यौं ।’
यसैबीच १४ वर्षको उमेरमा उनी माओवादी ‘जनयुद्ध’मा सामेल भएकी थिइन । उनले माओवादी लडाकुका रूपमा दुई वर्ष जंगलमा तालिम समेत लिइन । सेना समायोजन क्रममा अयोग्य भएपछि बल्ल उनको खेल जीवन सुरु भएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्