सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

लभ गरेको भन्दै स्कुलले निकालेपछी आत्महत्या

ललितपुरको धापाखेलमा रहेको जेम्स स्कुलमा दश कक्षामा पढ्दै आएका दाङका प्रज्वल शर्मा काठमाडौंको बल्खुमा परिवारसँगै बस्दै आएका थिए । उमेरले १५ बर्ष पूरा भएका शर्मा यसपाली एलएलसी दिने तयारीमा थिए । प्रज्वलको जेम्समा आफुसँगै पढ्ने केटी साथीसँग माया बसेको थियो ।

निकै चर्चित मानिने जेम्स स्कूलका प्रिन्सिपल बादल प्रधानले प्रज्वलको प्रेम सम्बन्धबारे थाहा पाएपछि गत मंगलबार स्कुलबाट निकालिदिएको परिवार स्रोतले दाबी गरेको छ । स्कुलले निकालेपछि निकै तनावमा आएका प्रज्वलले अन्ततः मृत्युको बाटो रोजेका छन् ।

बिहीबार उनलाई आफु सुत्ने कोठामा फ्यानको हुकमा झुण्डिएको अवस्थामा फेला पारेपछि उनका दाईले छिमेकीलाई खबर गरेका थिए । सलको पासो लागेर झुण्डिएका शर्मालाई प्रहरीको रोहबरमा उपचारका लागी बल्खु स्थित बयोधा अस्पताल लैजाँदा मृत्यु भएको पारिवारिक स्रोतको भनाई छ ।

दाङको परस्पुर गाविस घर भएका प्रज्वलकी आमा त्रिभुवन विश्व विद्यालयकी कर्मचारी हुन् भने उनका बाबु राजनितीमा संलग्न रहेको बताईएको छ । बिहिबार दिउँसो साढे २ बजेतिर ढोकामा चुकुल लगाएर उनी झुण्डिएको बताईएको छ ।

गत मंगलबार विद्यालयले निलम्बन गरेपछि निकै तनावमा देखिएका प्रज्वललाई परिवारले सम्झाएर राखे पनी बिहीबार उनलाई घरमा एक्लै छाडेर परिवारका सदस्यहरु घर बाहिर हिँडेका थिए । उता प्रज्वल अध्ययनरत जेम्स स्कुलले भने उनलाई निस्कासन नगरेको बताएको छ ।

प्रज्वलले आत्महत्या गरेको खबर सुन्दा आफुलाई निकै दुःख लागेको बताउँदै जेम्स स्कुलका प्रिन्सिपल बादल प्रधानले भने–‘हामीले निलम्बन गरेको हैन, प्रज्वल मंगलबार विद्यालय आएको थिएन । हामीले किन स्कुल नआएको भनेर परिवारलाई सोध्नका लागी सम्पर्क गरेका थियौं उहाँहरुले दुःखद खबर सुनाउनुभो ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्