सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रेम विवाह गरेकी श्रीमतीलाई घर पस्न नदिएपछी

इटहरी, बराहक्षेत्र–४ का पुष्प बस्नेतले आठ वर्षअघि प्रेम विवाह गरेर विवाह गरी ल्याएको श्रीमती ममता कार्कीलाई घर प्रवेश गर्न नदिई अर्कै श्रीमती विवाह गरेको विषयमा जिल्ला अदालत सुनसरीले घर बस्न दिएको आदेशको बस्नेत परिवारले ठाडो उल्लङ्घन गरेका छन् ।

जिल्ला अदालत सुनसरीले गरेको निर्णय पालना गर्न प्रहरीलाई दिएको आदेशको समेत उचित व्यवस्थापन हुन नसकेपछि पीडित ममताले आफ्नो घरमा बस्नका लागि प्रयत्न गर्दा श्रीमान पुष्प तथा उनको ससुरा यज्ञबहादुर बस्नेत, सासू र परिवारका अन्य सदस्य समेत घरमा ताला लगाएर फरार भएका छन् ।

चतरा बयरवन बजारमा रहेको घरमा पारालिगलका महिला नेत्री तथा छरछिमेक, सञ्चारकर्मी र प्रहरी समेतको टोली ममतालाई विवाह गर्ने बस्नेतको घर पुग्दा घरमा भित्रबाट छिड्कनी लगाएको थिईयो । पीडित ममताले बाहिरी ढोका खोलेर घर प्रवेश गरे पनि परिवारका आधिकारिक मानिस फेला नपरेपछि समाज र प्रहरीले समेत ममतालाई आधिकारिक रुपमा जिम्मा लगाउन नसकेको पीडित ममताले बताएकी छिन ।

अदालतको आदेश आउनुअघि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीले प्रतिमहिना १५ हजार खान लाउन दिनु भनेर कागजात गरी मिलापत्र गराएको थियो । केही दिन प्रहरी हिरासतमा बसेर एकआपसमा मिल्ने सहमतिमा छाडिएका पुष्प बस्नेत लगायतका परिवारका सदस्य अदालतको आदेशपछि घरमा ताला लगाएर भाग्नुले सो घटनामा बस्नेत परिवारले अदालतको आदेशलाई समेत चुनौती दिएर ममतालाई अन्याय गरेको स्थानीयवासीको भनाइ रहेको छ ।

उता इलाका प्रहरी कार्यालय चतराका प्रहरी नायब निरीक्षक रामदेव चौधरीले अदालतको आदेश भए पनि आफूहरुले कसैको घर तोडफोड गरेर मानिस बसाउन नमिल्ने बरु हामीले अदालतको आदेश मुताविक बस्नका लागि समाज राखेर छलफल गर्न सक्ने बताउनु भयो ।

एक वर्षको छोरीको आमासमेत भएकी ममतालाई पुष्प बस्नेतले विदेशबाट आएर प्रेम विवाह गरेका थिए । उनले ममतालाई काठमाण्डौमा २ वर्ष राखेर घर आएपछि घरमा बाबुआमाको दबाब झेल्न नसकेपछि कान्छी श्रीमती विवाह गरेको पाइएको छ । यसमा परिवारका सबैको झालझेल रहेकाले यो घटनामा बस्नेत परिवारका सबै कानुनको दृष्टिमा कारवाही योग्य रहेको पारालिगलकी महिला नेत्री मीना राईको विचार छ । रासस

फेसबुकबाट कमेन्ट गर्नुहोस्