सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

‘तीन जोईका पोई’ कालुले यसरी कमाउँछन पैसा

मान्छेले पैसा कमाउन अनेक–अनेक बुद्धि प्रयोग गरिरहेका हुन्छन् । कसैले कडा परिश्रम गरि कठिनसँग पैसा कमाई रहेका हुन्छन् त कसैले सजिलो तरिकाले आफ्नो इलम प्रयोग गरि पैसा कमाइरहेका हुन्छन् ।

‘यदि धेरै मेहनत गरेर मात्र पैसा कमाउन सकिने भए अहिलेसम्म सबभन्दा बढी धनी मानिस मुसहर जाति हुन्थे, किनभने उनीहरु दिनभरि माटो काट्छन’, कैलाली टिकापुरका कालु हमाल भन्छन–‘पैसा कमाउन कडा परिश्रम होइन, बुद्धि लगाउनुपर्छ र म बुद्धि लगाएर नै पैसा कमाइरहेको छु ।’

कालु हमाल तिनै व्यक्ति हुन् जसले कैलालीको टिकापुरमा १० विघा जमिनमा केरा खेती गरेर त्यसलाई ‘एग्रो टुरिजम’को रुपमा विकास गरि अहिले महिनाको दुई लाख कमाई गरिरहेका छन् । खोलाको पाखाबारी, पुर्खौली जमिन जुन कुनै कामको थिएन, त्यसमा हमालले केरा खेती गरेर त्यसैमा रेष्टुरेण्ट र रिसोर्ट सञ्चालन पनि गरेका छन् ।

रिसोर्टमै पुगेका पत्रकारहरुसँग कुरा गर्दै हमालले भने–‘गाउँका युवतीहरु सुन्दरी हुन्छन् तर बाहिर आएका हुँदैनन, शहरका युवती हेर्दा सुन्दरी हुन्छन् तर, नजिक जाँदा केही न केहीका हुन्छन’, त्यस्तै ग्रामिण क्षेत्र, खोला, पाखाबारीको जमिन, जसलाई कसैले मतलब राखेन तर मैले त्यसमा सुन्दरता देखेँ र त्यसलाई सिंगारेर आज यो अवस्थामा पु¥याएको छु । एग्रीकल्चरलाई ग्ल्यामर बनाइरहेको छु ।’

उनको रिसोर्ट र रेष्टुरेण्टको आकर्षण त्यहाँको परिकार हो । हरेक परिकार केराका नै हुन्छन् । केराको रोटी, पकौडा, खीर, अचार, चटनी, तरकारी, अमलेट, मःमः, चिप्स, सेकुवा, स्लाइस, वाइन, रक्सी, सलाद, टिकिया लगायत ३७ प्रकारका परिकार पकाएर खुवाउने गरेका छन् । रेष्टुरेण्टमा खानका टाढा टाढाका ग्राहकहरु आइरहेका हुन्छन् ।

उनि भन्छन–‘मलाई अनलिमिटेड पैसा चाहिएको हुनाले मैले यो व्यवसाय शुरु गरेको छु ।’ १३ वर्ष पहिले सात कठ्ठाबाट व्यवसाय शुरु गरेका हमालले २०७२ मा राष्ट्रपति कृषि पुरस्कार पनि पाएका थिए । राष्ट्रपति कृषि पुरस्कार तपाईलाई नै किन दिइयो होला भन्ने जिज्ञासामा उनले भने–’अरुले मेहनत गरेर राष्ट्रपति पुरस्कार पाए भने मैले कन्सेप्ट दिएर पाएँ ।’

व्यवसायी हमाल भन्छन–‘सबभन्दा सजिलो व्यवसाय केरा खेती नै हो, यसमा धेरै समस्या पनि हुँदैन, एकपटक रोपेर त्यसलाई राम्रोसँग स्याहार सुसार गर्यो भने धेरै उत्पादन दिनसक्छ, हालसम्म समाधान नै नगर्ने गरि कुनै समस्या छैन ।’

हमाल कृषि व्यवसायमा सफल भएपनि पारिवारलाई सम्हाल्न भने असफल भएका छन् । उनका छोरा र श्रीमती अलग भएर बसेका छन् भने उनीसँग अँझै तीन जना श्रीमती बाँकी छन् । रिसोर्ट र रेष्टुरेण्ट सहित ४० जना कामदारमध्ये अधिकांश थारुहरु छन् । आधाभन्दा बढी थारु महिला कामदारहरु छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्