कानपुर रेल बम बिष्फोटका कमाण्डर नेपालबाट पक्राउ
नेपाल भारत सिमा स्थित बारा जिल्लासँग सिमाना जोडिएको घोडासन रेल्वे ट्रयाकमा बम विष्फोट गराउने सम्शुल होदालाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौंको महाराजगञ्जमा लुकिछिपी बसेको अवस्थामा होदालाई नियन्त्रणमा लिईएको बारा प्रहरीले जानकारी दिएको छ ।
बारा पर्शुरामपुर–४ स्थायी घर भएका होदा २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा सभाषदको उम्मेद्वार थिए । चुनावको बेला खर्च भएको साढे २ करोड ऋण तिर्न नसकेपछि आतंकबादी गतिवीधीमा लागेका होदाले गत अक्टोबर १ तारिखका दिन बारासँग सीमा जोडिएको भारतको घोडासहनस्थित रेल्वे ट्रयाकमा बम विष्फोट गराउने असफल प्रयत्न गरेका थिए ।
गएको नोभेम्बर २० मा कानपुरको पुखराया नजिक गराईएका विष्फोटमा समेत होदाको हात रहेको भारतीय पक्षले दावी गरेको थियो । चुनाव हारेपछी शुरुमा जाली नोटको कारोवार शुरु गरेका होदा पछि बम विष्फोट गराउने कार्यमा संलग्न भएका थिए ।
पाकिस्तानी आईएसआईसँगको मिलेमतोमा बम विष्फोट गराउने कार्यमा संलग्न होदाले प्रहरीसँगको प्रराम्भिक बयानका क्रममा जाली नोट कारोवारमा खासै कमाई नभएकोले बम विष्फोटको योजना बनाएको बताएका छन् । जाली नोटको कारोबार गर्दागर्दै दुबईको अपराधिक गिरोहसँग भेटेका होदाले केही भारतीय र नेपाली युवाहरु प्रयोग गरेर नेपाल भारत सिमानाको रेल्वे ट्रयाकमा बम राख्न लगाएका थिए ।
यसरी खुल्यो आइएसआईको नेपाल कनेक्सन
गएको पुस १३ गते बाराको हरैया जंगलमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा भारतका दिपक राम र अरुण राम फेला परे । हत्या पाकिस्तानी खुफिया एजेन्सी आइएसआइको निर्देशनमा गरिएको खुलेपछि नेपाली र भारतीय प्रहरीले घटनाको कनेक्सन खोतल्न शुरु गर्यो ।
त्यहि क्रममा खुल्यो, नेपालमा आइएसआइको एजेन्टका रुपमा काम गर्दै आएका बाराको कलैया घर भएका समशुल होदाकै निर्देशनमा दिपक र अरुणको हत्या भएको रहश्य । विगत लामो समयदेखी दुवई बस्दै आएका होदाले नेपालमा आइएसआइको एजेन्टको रुपमा काम गर्दै आएको खुलेपछी नेपाल र भारतका प्रहरी उनको खोजिमा लागे ।
बाराको सीमासंग जोडिएको भारतको घोडासहन स्थित रेल्वे ट्रयाकमा बम राख्नका लागि होदाले बाराको महागढीमाइ नगरपालिकाको सिमरा तेगछीयका गिरी बाबा भन्ने बृज किशोर गिरी मार्फत रक्सौल गम्हरीका उमाशंकर पटेललाइ ६ लाख भारु पेश्कीका रुपमा दिएका थिए ।
उमाशंकरले रेल्वे ट्रयाकमा बम राख्नका लागि अह्राएर आदापुरका दिपक र अरुण रामलाई जनही तीन–तीन लाख भारु दिएका थिए । बम विस्फोटको योजना सफल भएपछि दिपक र अरुणलाइ कुल ३० लाख रुपैयाँ भारु भुक्तानी गर्ने सम्झौता उनिहरु बिच भएको थियो । तर दिपक र अरुणले अक्टोबर १ तारिखका दिन रेल्वे ट्रयाकमा राखेको प्रेसर कुकर बममा प्राविधीक त्रुटी भएका कारण बम विस्फोट नभएपछि उनिहरुको योजना असफल भएको थियो ।
काम नभएपछि दिपक र अरुणलाई बाराको जंगलमा बोलाएर बृज किशोर गिरीले कलैया नगरपालिका वडा नम्बर १० रंगपुरका मोजाहिदिन अन्सारी र शम्भु भन्ने लड्डुको सहयोगमा घाँटी रेटेर हत्या गरेको प्रहरी स्रोतले जनाएको छ । हत्यामा संलग्न गिरी, अन्सारी र लड्डुलाई नेपाल प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
गिरीलाई नेपाल प्रहरी र विशेष ब्युरोको टोलीले पुष १५ गते पर्साको बिजबनिया गाविस वडा नम्बर ७ गढैया टोलबाट गोली हानेर पक्राउ गरेको थियो । प्रहरीले हानेको गोली लागेर घाइते भएका गिरीको चितवनको भरतपुरमा उपचार भइरहेको छ । यस्तै पुष १४ गते पक्राउ परेका अन्सारी र लड्डुलाई भने बारा प्रहरीले आफ्नो हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेकाहरुको बयानका आधारमा प्रहरीले होदालाई नियन्त्रणमा लिएको हो । रेल्वे ट्रयाकमा बम राख्ने अपराधिक कार्यमा संलग्न भारतका तीन जनालाई पनि भारतीय प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । केही दिनअघि बिहारको मोतीहारीमा भारतीय प्रहरीले पत्रकार सम्मेलन गरि नेपाल र भारतमा पक्राउ परेका ६ जनाले आइएसआईका लागि आपराधिक काम गर्ने गरेको दाबी गरेका थिए ।
आइएसआईको निर्देशनमा होदाले परिचालन गरेको समुहले भारत कानपुरको पुखाराया र मालसा रेल्वे स्टेशनको बीचमा गत नोभेम्बर २० तारिखमा भएको इन्दौर पटना एक्सप्रेस रेलमा बम विस्फोट गराएको भारतीय सञ्चार माध्यमले दावी गरेका छन् । उक्त घटनामा एक सय ५१ भन्दा बढिको मृत्यु भएको थियो ।
यो पनि पढन सिफारीस गरिएको छ;
फेसबुकबाट कमेन्ट गर्नुहोस्