सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

डोजर चलाउँदा जावलाखेलमा गाडेको धन भेटीयो

जावलाखेल स्थित महानगरीय प्रहरी परिसर कार्यालयकै अगाडि एउटा डोजर चलिरहेको छ । छेउमै मानिसहरु एकनासले माटो खोस्रिरहेका छन् । लाग्छ, त्यहाँ कुनै बहुमूल्य बस्तु हराएको पो हो कि ? तर, वास्तविकता केही हराएको नभई बहुमुल्य बस्त भेटिएको रहेछ ।

सोमबारबाट खानेपानीको पाइप विच्छ्याउन प्रहरी कार्यालय अगाडि सडक खन्न थालिएको थियो । डोजरले सडक खन्ने क्रममा माटोमुनि गाडिएको पैसाको भाँडो भेटियो । स्थानीयले बताए अनुसार माटोको भाँडामा राखेर गाडिएका पुराना सिक्काहरु (गाडधन) स्थानीयले लगे ।

प्रहरी रमिते बनेर बसे । सडकमा भेटिएको रहल–पहल पैसा खोज्न त्यहाँ सोमबारदेखि नै मानिसहरु माटो खोस्रीरहेका छन् । सोमबार पैसाको भाँडो नै भेटिएको थियो, जुन त्यहाँ जम्मा भएका स्थानीयले लगेका छन् । मंगलबार पनि खन्ने क्रममा केही पैसा भेटिएको छ ।

त्यही भएर मानिसहरु त्यहाँ कुखुराले जसरी माटो खोस्रिरहेका थिए । केहीले सिक्का भेट्टाएका पनि छन् । भेटिएको सिक्का हेर्दा निकै पुराना जस्ता देखिए पनि खिया लागेका कारण त्यसमा लेखिएको केही बुझ्न सक्ने अवस्था छैन ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले माटोमुनि सिक्का भेटिएको पुष्टि गरेका छन । उनले भने–‘यो खबर आएपछि संरक्षण गर्न पुरातत्व विभागलाई खबर गरेको थिएँ, उनीहरु आएर लगे भन्ने मलाई खबर आएको छ ।’ मंगलबार पनि मानिसहरुले पैसा खोजिरहेका छन नि भन्ने जिज्ञासामा प्रजिअ काफ्लेले भने–‘यो मलाई थाहा भएन, म फेरि बुझ्छु ।’

गाडधन भेटिएकोबारे पुरातत्व विभागलाई सोध्दा स्मारक संरक्षण कार्यालयलाई भनिएको भनेर पन्छिएको छ । यसले प्रहरीकै अगाडि भेटिएको पुरातात्विक सामाग्री प्रशासनको हातमा पुग्यो कि स्थानीयले लगे प्रष्ट भएको छैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्