सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

त्रिविको बेथिती; ज्वाँई परीक्षा दिने, ससुराले जाँच्ने

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले वि.सं. ०७२ कात्तिकमा विश्वविद्यालयको उप–प्राध्यापक पदका लागि गरिएको विभिन्न विषयको लिखित परीक्षाको संशोधित नतिजा प्रकाशन गर्यो । त्यसअघि आयोगले उतीर्ण विद्यार्थी भन्दै नामावली प्रकाशन गरिसकेको थियो । तर, दोस्रोपटक संशोधित सूचनामा त्यसअघि पास भएका भनिएका ६ जना परीक्षार्थी फेल भएको देखियो ।

त्यसअघिको सूचनामा फेल भएका परीक्षार्थीहरु पास भएको देखियो । त्रिवि सेवा आयोगले यसरी पटक–पटक परीक्षाको संशोधित नतिजा प्रकाशित गरी फेललाई पास र पास भएकालाई फेल गर्ने क्रम चलाइरहृयो । यस्तो अवस्थाबारे उजूरी परेपछि सतर्कता केन्द्रले छानविन थालेको थियो ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले त्रिभुवन विश्वविद्यालयको प्राध्यापकहरुको नियुक्ति, सरुवा, बढुवा, परीक्षा सञ्चालन जस्ता कामहरु गर्ने गर्छ । अनुसन्धानपछि सतर्कता केन्द्रले त्रि.वि को परीक्षाको विश्वासको आधार नभएको निष्कर्ष निकालेको छ । उप–प्रध्यापकका लागि गणित विषयको परीक्षाका लागि विभिन्न अन्य विद्यार्थीसँगै अमरनाथ साह पनि थिए । उनी त्रिविविसेवा आयोगले प्रश्नपत्र निर्माण विज्ञ तथा कापी जाँच्ने विज्ञ भनी नियुक्त भएका प्राध्यापक राम विश्वास शाहका छोरी ज्वाइँ हुन् । परीक्षामा ज्वाइँ अमरनाथ साहले परीक्षा दिँदै थिए ।

ससुरा साहले आयोगका पदाधिकारीसँग मिलेमतो गरी आफैँ प्रश्न पत्र तयार गरे, र परीक्षाअघि सम्भावित प्रश्नहरु भन्दै प्रश्नको हल गरेर ज्वाइँलाई सिकाए । यतिमात्र होइन, उनले विचौलिया मार्फत पास हुन चाहने विद्यार्थीसँग पैसा मागेको र पैसा तिर्न सहमत विद्यार्थीलाई समेत सम्भावित प्रश्नहरु भन्दै परीक्षा अघि नै प्रश्नपत्रको हल गरेर पठाए ।

ती विद्यार्थीहरुलाई उत्तरपुस्तिकामा विभिन्न संकेत कोर्न लगाएको सतर्कताको अनुसन्धानले देखाएको छ । सतर्कता केन्द्रले तयार पारेको छानविन प्रतिवेदनले भनेको छ–‘प्रश्नपत्रको निर्माणकर्ताको रुपमा, उत्तरपुस्तिका जाँचकको रुपमा र प्रश्नपत्र हल गरी विभिन्न व्यक्तिलाई दिएको कुरा शिक्षक साहले लिखित रुपमा समितिलाई जानकारी गराएको हुँदा त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणालीमाथि विश्वास गर्ने अवस्था देखिएन ।’

प्राध्यापक साहले त्यतिमात्र गरेनन, उत्तर पुस्तिकामा विभिन्न संकेत राख्न लगाएर गणित विषयको कापीसमेत आफै जाँच्ने व्यवस्था मिलाए । अन्ततः ज्वाइँको कापी आफै जाँचेर उनलाई पास गराएको सतर्कताको अनुसन्धानले पुष्टि गरेको छ । त्रिभुवन विश्वविद्यालयसेवा आयोगले समेत एउटै व्यक्ति (साह)लाई प्रश्नपत्र विज्ञ र उत्तरपुस्तिका जाँच्ने विज्ञका रुपमा नियुक्त गरेर मिलेमतो रहेको पाइएको सतर्कताले तयार पारेको छानविन प्रतिवेदनले दाबी गरेको छ ।

प्राध्यापक साहले अन्य परीक्षार्थीसँग भने पास हुनका लागि पैसा मागेको सतर्कता केन्द्रको अनुसन्धानले पुष्टि गरेको छ । शिक्षक साहले सतर्कता केन्द्रको अनुसन्धान टोलीलाई दिएको बयानमा समेत आफुले त्यस्तो गल्ती गरेको स्वीकार गरेका छन् । परीक्षार्थीले आफ्नो उत्तर पुस्तिकामा विभिन्न संकेत राख्ने र प्राध्यापक साहलाई पैसा दिएपछि उनले संकेतका आधारमा विद्यार्थीहरुलाई उत्तीर्ण गराएको अनुसन्धानले देखाएको हो ।

सतर्कता केन्द्रको प्रतिवेदनमा उदाहरण दिँदै भनिएको छ–‘साहले सुरेन्द्र यादव भन्ने विद्यार्थीसँग पास हुनका लागि सुरुमा रु. १० लाख मागेको पाइयो । तर, यादवले १० होइन, पाँच लाख दिने बताए ।’ प्राध्यापक साहले सेवा आयोगका तत्कालीन अध्यक्ष ईश्वरचन्द्र दत्त र सदस्य केदार घिमिरेलाई समेत मिलाउनुपर्ने भएकाले १० लाखभन्दा कम गर्न नसकिने बताएका थिए । विद्यार्थी यादवले उक्त रकम दिन अस्वीकार गरेपश्चात परीक्षाफल प्रकाशित हुँदा यादव फेल भएको सूचना प्रकाशित भएको थियो ।

भुल सुधारका नाममा पटक–पटक परीक्षाफल प्रकाशन

सतर्कता केन्द्रको अनुसन्धानले प्रध्यापक साहले परीक्षार्थीसँग रकम लिई पटक–पटक सेवा आयोगले भुल सुधारका नाममा परीक्षाको नतिजा फेरवदल गरी नतिजा प्रकाशित गर्ने गरेको पुष्टि गरेको छ । गणित, विज्ञानको खुल्ला र आन्तरिक उप–प्राध्यापक पदको लिखित परीक्षामा विज्ञको रुपमा उत्तरपुस्तिका परीक्षण गरेका साहले दुई पटकसम्म परीक्षाफल संशोधन गर्दै प्रकाशन गरेको पाइएको हो ।

ससुरा–ज्वाइँलाई कारबाही सिफारिस

सतर्कता केन्द्रले शिक्षक रामविश्वास शाह र उनका छोरी ज्वाइँ अमरनाथ शाहलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्ने निर्णय गरेको छ । साथै सतर्कता केन्द्रले उक्त परीक्षा रद्द गरी नयाँ प्रश्नपत्रका आधारमा परीक्षा लिन त्रिभुवन विश्वविद्यालय सेवा आयोगलाई निर्देशन दिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS