सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

विवाहको उमेर २० बर्ष, सम्बन्धबिच्छेदमा समान हक

संसदको विधायन समितिले मुलुकी ऐन प्रतिस्थापन विधेयकमध्ये देवानीसंहिता पारित गरेको छ । ‘मुलुकी देवानी संहिता २०७३’ नाम रहने गरी समितिले विधेयक पारित गरेको हो । संहिताले पारिवारिक कानुनमा सम्पत्ति, विवाह, सम्बन्ध विच्छेद लगायत विषयका कानुन समेटेको छ ।

समितिबाट पारित विधेयकमा मौजुदा पारिवारिक कानुनमा रहेको विवाहका लागि न्यूनतम उमेरको हद बढाइएको छ । विवाहको उमेरलाई २० वर्ष राखिएको छ । संहिताको व्यवस्था पारित भएमा विधेयक प्रमाणीकरणको १८ वर्षपछि पैत्रिक सम्पतिमा सन्ततिको निरपेक्ष हक कायम रहने छैन ।

सम्पतिको मालिकले आफ्नो सम्पत्ति इच्छा गरेको व्यक्तिलाई दिन सक्नेछ । सम्पत्तिमा इच्छापत्र नेपालको कानुन प्रणालीमा नयाँ व्यवस्था हो । समितिबाट पारित संहिताले सम्बन्ध विच्छेदमा महिला र पुरुष दुवैका लागि समान व्यवस्थाका लागि पुरुषले पनि जिल्ला अदालतबाट सम्बन्ध विच्छेद प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था गरेको छ ।

धर्मपुत्र सम्बन्धमा संहिताले विस्तृत व्यवस्था गरेको छ । विवाह भएको १० वर्षसम्म पनि छोरा वा छोरी नहुने दम्पती, पैँतालीस वर्ष उमेर पूरा भएकी अविवाहिता, विधवा, सम्बन्ध विच्छेद गरी बसेका छोरा वा छोरी नहुने महिलाले धर्मपुत्र राख्न पाउने व्यवस्था संहिताले गरेको छ ।

संहिताले हालको सात पुस्तासम्म रहेको अपुताली दाबी सम्बन्धी व्यवस्था तीन पुस्तामा झारेको छ । छोरा–छोरी दुवैको तीन पुस्तासम्म अब अपुताली हकदाबी कायम रहनेछ । तीन पुस्तासम्म पनि हक पुग्ने व्यक्ति नभए सम्पत्ति राज्यको हुनेछ । सामान्यतया अपुताली ठूलोबाट सानो व्यक्तिमा सर्ने भए पनि विधेयकले सानो व्यक्तिको अपुताली ठूलो व्यक्तिमा सर्ने व्यवस्था गरेको छ ।

आफ्नो हक र स्वामित्वमा रहेको सम्पत्ति, त्यसबाट प्राप्त हुने प्रतिफल, लाभ, आम्दानी वा सुविधा अर्को व्यक्तिले प्रयोग गर्नसक्ने गरी निःशुल्क रूपमा दिएको विषयलाई फलोपभोगको व्यवस्था भएको मानिने विधेयकको परिभाषा छ । संहिताले नयाँ संविधानको व्यवस्थाअनुसार गैरआवासीय नेपालीलाई अचल सम्पत्ति राख्न, उपभोग गर्न र हस्तान्तरण गर्नसक्ने व्यवस्था हुने बनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS