अबैध सम्बन्ध लुकाउन प्रहरी हवल्दारले गरे हत्या
जाजरकोटमा प्रहरीबाटै एक महिलाको हत्या भएको रहस्य खुलेको छ । भेरी मालिका–४ बोहराकी २८ वर्षीया राधिका सुनारको हत्या भएको पाँच दिनपछि हत्यामा प्रहरी हवल्दार कमल सुनार संलग्न रहेको रहस्य खुलेको प्रहरीले जनाएको छ ।
राधिकाको गत शनिबार खुकुरी प्रहारबाट हत्या भएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । आइतबार बिहान राधिकाको शव भेटिनासाथ प्रहरीले हत्याराको खोजी सुरु गरेको थियो । सुरुमा राधिकाका पति दलबहादुरलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
राधिकाले प्रयोग गर्ने मोबाइलको कल डिटेलबाट हत्यामा हवल्दार कमल संलग्न रहेको पुष्टि भएको प्रहरीको भनाइ छ । अभियुक्त कमललाई बुधबार नै म्याद थप गरी ज्यान मुद्दा चलाउने तयारी गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताएका छन ।
प्रनाउ रिमालले भने–‘अनुसन्धानबाट हत्यामा उसको संलग्नता खुलेको छ, अब कारबाहीको प्रक्रिया सुरु गरिसकियो ।’ राधिकाको हत्यामा कमलको संलग्नता पुष्टि भएपछि बुधबार नै प्रहरी नियन्त्रणमा रहेका राधिकाका पति दलबहादुरलाई रिहा गरिएको प्रहरीले जनाएको छ ।
राधिकाका परिवारका आफन्तले निर्दोष दलबहादुरलाई प्रहरीले दुःख दिएको भन्दै आपत्ति जनाएका छन् । हत्यारालाई हदैसम्मको कारबाही गर्नुपर्ने र दलबहादुरलाई क्षतिपूर्ति र बालबच्चाको गाँसबास सुनिश्चित गर्नुपर्ने माग गर्दै महिलाहरूले बुधबार जिल्ला प्रहरी कार्यालयमा घेराउ गरेका छन् ।
हत्यामा संलग्न प्रहरी हवल्दार कमल जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत थिए । उनले के कारणले राधिकाको हत्या गरेका हुन सोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूबीच अवैध सम्बन्ध रहेकाले कमलले राधिकाको हत्या गरेको आशंका गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्