सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आईजी सिलवाल कि चन्द ? देउवा चन्दको अडानमा

नेपाल प्रहरीको महानिरीक्षक कसलाई बनाउने भन्ने बिषयमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच विवाद चर्किएको छ । यही विवादका कारण आज(बिहीबार) बस्ने भनिएको मन्त्रिपरिषद बैठकसमेत स्थगित भएको छ ।

यही साता अवकाश पाउन लागेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका ठाउँमा बरियताका आधारमा डीआइजी नवराज सिलवाललाई आइजी बनाउनुपर्ने अडानमा प्रधानमन्त्री प्रचण्ड उभिएका छन् । प्रहरी संगठनभित्र पार्टीले हस्तक्षेप गर्न नहुने र संगठनमा अहिलेसम्म रहेको व्यवसायिकता र चेन अफ कमाण्डलाई बिगार्न नहुने प्रधानमन्त्रीले देउवालाई बताएका छन् ।

प्रहरीको चेन अफ कमाण्डलाई ख्याल गर्दै सिलवाललाई नै आइजी बनाउनुपर्ने प्रचण्डले बताए पनि देउवाले चाहिँ तेस्रो बरियताका डीआइजी जयबहादुर चन्दलाई आइजी बनाउन प्रधानमन्त्रीलाई दबाव दिएको स्रोतले बताएको छ । देउवाले चन्दलाई आइजी नबनाउने हो भने राजीनामा दिन गृहमन्त्री विमलेन्द्र निधीलाई चेतानवी दिईसकेको बताईएको छ ।

कांग्रेसका मन्त्रीहरुलाई पनि क्याबिनेटमा सिलवालको प्रस्ताव आएमा विरोध गर्न देउवाले निर्देशन दिएका छन । सिलवाललाई नबनाउने हो भने दोस्रो बरियताका प्रकाश अर्याललाई बनाऔं न त भनेर प्रधानमन्त्री प्रचण्डले देउवालाई अप्सन दिएको बताईएको छ । अहिलेसम्म बरियता मिच्दा पनि दोस्रो भन्दा तल गएको इतिहाँस नरहेको भन्दै प्रधानमन्त्रीले तेस्रो बरियतामा जानै नसकिने बताएका थिए ।

देउवाले भने जसरी पनि चन्दलाई बनाउनै पर्छ भनेर अड्डी कसेपछि प्रधानमन्त्रीले आज बस्ने मन्त्रिपरिषद बैठक नै स्थगित गरिदिएका छन् । विहीबार बिहानै बालुवाटार पुगेका मुख्यसचिव सोमलाल सुवेदीलाई प्रधानमन्त्रीले बैठक स्गथित भएको सूचना मन्त्रीहरुलाई दिन भनेका छन् ।

तेस्रो बरियताका डीआइजी चन्दले आफू पनि सुदुरपश्चिमको भएको र आफूलाई आइजी बनाए कांग्रेसलाई चुनाव जित्न सजिलो हुने देउवालाई आश्वासन दिएका छन् । साथै उनले कांग्रेसका विभिन्न जिल्ला सभापति मार्फत देउवालाई कन्भिन्स गरेको स्रोत बताउँछ । कांग्रेस सभापति देउवाले आइजी नियुक्तिको अधिकार नेपाली कांग्रेसले पाउनुपर्ने जिकिर प्रधानमन्त्री प्रचण्डसँग गरेका छन् ।

प्रचण्डले चाहिँ बरियता मिचेर तेस्रोमा भएको व्यक्तिलाई आइजी बनाउन नसक्ने र यसले प्रहरी संगठनमा निराशा उत्पन्न हुने तर्क गरिरहेको स्रोतले बतायो । बहालवाला एआइजीहरुले पनि उपेन्द्रकान्त अर्यालसँगै फागुन ३ गतेदेखि अवकाश पाउने भएकाले डीआइजीहरुबाट आइजी छनौट गर्न लागिएको हो ।

देशभरिका २६ डीआइजीमध्ये नवराज सिलवाल पहिलो बरियतामा छन् भने दोस्रोमा प्रकाश अर्याल र तेस्रोमा जयबहादुर चन्द छन् । चन्दले देउवाको साथ पाएका छन् । साथै उनले केही साताअघि दिल्लीको समेत भ्रमण गरेका थिए, जसलाई समेत लाइन मिलाउने प्रयासका रुपमा व्याख्या गरिएको छ ।

नेपाली कांग्रेसका नेताहरुले विगतमा प्रहरीको सरुवा र बढुवामा पैसाको चलखेल गर्ने गरेका थिए । यसपटक चाहिँ बरियता मिचेर आइजी बनाउने खेलमा आर्थिक लेनदेनले काम गरेको छ कि छैन भन्ने चाहिँ बाहिर आइसकेको छैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्