सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

विमानस्थलमा एक्सरे छैन, कर्मचारीलाई करोडौँ बोनस ?

देशका कैयन विमानस्थलमा माइकिङ सुविधा छैन । भद्रपुर, बिराटनगर लगायतका कैयन विमानस्थलमा एक्सरे मेसिन नै छैन । झण्डै ४ अर्ब ऋण त छँदै छ । तर, विमानस्थलको सुधारमा रकम खर्च नगर्ने नागरिक उड्डयन प्राधिकरण अहिले कर्मचारीहरुलाई बोनस वितरण गर्न कस्सिएको छ ।

अस्तव्यस्त रुपमा विमानस्थलहरु सञ्चालन गरिरहेको प्राधिकरणले ‘नाफा भयो’ भन्दै कर्मचारीहरुलाई ३८ करोड रुपैयाँ बोनस बाँड्न लागेको हो । आम्दानी गर्ने तर आवश्यक मात्रामा खर्च नगर्दा बर्षेनी थुप्रिँदै आएको रकमलाई प्राधिकरणले विमानस्थलहरुको सुधारमा खर्च नगरी ‘बोनस’ बाँड्न लागेको हो ।

आवश्यक सुविधा उपलब्ध नहुँदा विमानस्थलमा यात्रुले बिभिन्न समस्या भोग्नुपरेका बेला प्राधिकरण भने आफ्ना ८ सय कर्मचारीलाई बोनस वितरण मार्फत खुसी बनाउन लागीपरेको छ । पटक–पटकको असफल प्रयास पछि प्राधिकरणले यसपटक बोनस वितरणको फाइल अगाडी बढाउन सफल भएको छ ।

यसअघि मन्त्री तथा सचिवले नै बोनस खान नमिल्ने भन्दै प्रक्रिया रोक्ने गरेका थिए । यस वर्ष भने फाइल सम्बन्धित मन्त्रालयबाट पास भएर अर्थ मन्त्रालयमा पुगेर विचाराधीन अवस्थामा बसेको छ । गत साल बोनस वितरणको प्रस्ताव लिएर मन्त्रालय पुगेका प्राधिकरणका कर्मचारीलाई तत्कालिन मन्त्री आनन्दराज पोखरेलले असहमति जनाउँदै फर्काएका थिए ।

अहिलेका मन्त्री जीवनबहादुर शाही भने कर्मचारीलाई जसरी पनि बोनस खुवाउने भन्दै आश्वासन बाडेर हिँडेका छन । मन्त्री शाहीकै अध्यक्षतामा पुसको दोस्रो साता बसेको प्राधिकरण बोर्डको बैठकले कर्मचारीलाई बोनस वितरण गर्ने निर्णय गरेको थियो । तर, विभिन्न संघसंस्था, पूर्वमन्त्री र सचिवहरुले भने बोनस वितरणको आपत्ति जनाइरहेका छन् ।

पूर्वपर्यटन मन्त्री पोखरेल भन्छन–‘विमानस्थलमा आवश्यक खर्च नगर्ने पैसा बचाएर राख्ने अनि नाफा भयो भन्दै कहाँ बोनस खान पाइन्छ ?’ पूर्व पर्यटन सचिव दिनेश थपलिया भन्छन–‘प्राधिकरण ऋणमा छ साथै यसको ट्वाक्कै बोनस खाने गरी नाफा छैन, नाफा देखिएपनि ऋण छ नि त्यो पनि बिर्सन भएन ।’

तर प्राधिकरणका कर्मचारी भने ऋण पनि बिस्तारै तिर्दै जाने र बोनस पनि खाँदै जान मिल्ने बताउँछन् । उता पर्यटन व्यवसायीहरुले बिमानस्थलको अवस्था बेहाल हुँदा प्राधिकरणका कर्मचारीले बोनस खाने निर्णय गर्नु मनपरी भएको बताउँछन् ।

प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठका अनुसार ०७३ पुस मसान्तसम्म प्राधिकरणको ऋण ३ अर्ब ९२ करोड ८१ लाख ४९ हजार रुपैयाँ छ । अहिले प्राधिकरणले बाँड्न लागेको मुनाफा भनेको आर्थिक वर्ष ०६८र०६९ र ०६९र०७० को हो ।

यसअघि सञ्चित नोक्सानी रहेको भन्दै सरकारले आयल निगमको बोनस रोक्का गरेको थियो । जसका कारण अहिलेसम्म आयल निगमको बोनस बापतको रकम थुप्रिएको छ, तर कर्मचारीलाई बोनस बाँड्न मिलेको छैन । बोनसकै कारण आयल निगमका केही उच्च अधिकारीले जेल जीवन पनि बिताएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्