सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

युवतीले होटलमा बोलाएर दिउँसै व्यापारीको अपहरण

न्युरोडका व्यवसायी श्यामसुन्दर अग्रवाल बिहीबार अपहरणमा परेका छन् । सुन्धारास्थित एक होटेलमा बन्धक बनाई करिब नौ लाख रुपैयाँ फिरौती लिएर उनलाई कोठामै थुनेर अपहरणकारी भागेका छन् । युवतीमार्फत होटेलमा बोलाएर उनलाई अपहरण गरी बन्धक बनाईएको हो ।

व्यापारी अग्रवाललाई सुन्धाराको सनराइज गेस्ट हाउसमा करिब ६ घन्टा बन्धक बनाईएको थियो । अपहरणकारीले उनीबाट ७२ हजार नगद र आठ लाख रुपैयाँको चेक लिएका थिए । मुखमा पट्टी बाँधी होटेलको कोठामा बाहिरबाट चुकुल लगाएर अपहरणकारी भागेको प्रहरीले जनाएको छ ।

अपहरणकारी भागेपछि व्यापारी अग्रवालले कोठामा भित्रबाट ढकढक गरेपछि होटेलका कर्मचारीले ढोका खोलेका थिए । त्यसबेला मुखमा पट्टी तथा हातखुट्टा बाँधेको अवस्थामा अग्रवाल भेटिएका थिए । महानगरीय अपराध महाशाखा, काठमाडौं परिसर तथा महानगरीय प्रहरी वृत्त जनसेवाले घटनाको अनुसन्धान सुरु गरेको छ ।

घटनामा संलग्नहरूको खोजी भइरहेको महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले बताएका छन । प्रहरीले अपहरणकारी समूहका दुईजनालाई शुक्रबार पक्राउ गरेको छ । अग्रवालबाट लिएको आठ लाख रुपैयाँको चेक साट्न जाने दुई युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

अपहरणमा संलग्न युवतीसहित सबै फरार छन् । मखनमा सारी पसल चलाउँदै आएका अग्रवालको युवतीसँग भने पहिले नै चिनजान रहेको पक्राउ परेकाहरूले बताएका छन् । युवतीले भेट्न बोलाएपछि अग्रवाल होटेलमा गएका थिए । त्यहाँ रहेका तीन युवकले उनलाई नियन्त्रणमा लिई हातखुट्टा बाँधेर पैसाको बार्गेनिङ सुरु गरेका थिए ।

अग्रवालले तत्काल ७२ हजार र आठ लाख रुपैयाँको चेक दिएका थिए । केही समययता युवती परिचालन गरी अपहरणका घटना बढ्न थालेका छन् । गत ४ पुसमा सिन्धुलीका व्यवसायी रमेश कुँवरलाई युवतीमार्फत अपहरण गरी महाराजगन्जमा बन्धक बनाइएको थियो । अपहरणमा संलग्न दुईजना युवक पक्राउ परे भने युवतीसहित मुख्य नाइके अँझै फरार छन् ।

त्यस्तै, गत २३ माघमा नेपालगन्जमा पनि जग्गा व्यवसायी केशरबहादुर रोकायालाई युवतीकै माध्यमबाट अपहरण गरी फिरौती असुलिएको थियो । गिरोहमा आबद्ध युवती रीता गुरुङसहित चार जनालाई प्रहरीले त्यही दिन पक्राउ गरेको थियो ।

उपत्यकामा प्रहरीले पहिलोपटक अदालतबाट आदेश लिएर फोनको कल डिटेल, एसएमएस डिटेल तथा लोकेसन हेर्न थालेको छ । महानगरीय अपराध महाशाखाले शुक्रबार काठमाडौं जिल्ला अदालतबाट आदेश लिएर विभिन्न सातवटा नम्बरको कल डिटेल नेपाल टेलिकमबाट मगाएको हो ।

अनुसन्धानका लागि अदालतले म्याद थप गरेजस्तै अदालतबाट कल डिटेलका लागि अनुमति लिएर अनुसन्धान थालिएको अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीले जानकारी दिए । सर्वाेच्चले अदालतको आदेश लिएर मात्र कल डिटेल हेर्न आदेश दिएपछि प्रहरीले यस्तो प्रक्रिया सुरु गरेको हो । गोपनीयताको कारण देखाउँदै अदालतले यस्तो आदेश दिएको हो । सर्वोच्चको यो आदेश अपराध अनुसन्धानका लागि धेरै जटिल हुने प्रहरी अधिकारीहरू बताउँछन् ।

बिहीबार व्यापारी श्यामसुन्दर अग्रवाल अपहरणमा परेको खबर बेलुका साढे ८ बजे प्रहरीले पाएको थियो । तत्काल कल डिटेल हेरेर अनुसन्धान गर्नुपर्ने थियो । तर, अदालतले शुक्रबार दिउँसो मात्र कल डिटेल हेर्न अनुमति दियो । ‘त्यतिवेलासम्म अपहरणकारीहरू सजिलै भागे,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारी भन्छन–‘अदालतको आदेशपछि अब अपराधीलाई सहज भएको छ, हामी अनुसन्धान नै गर्न नसक्ने अवस्थामा पुगेका छौँ ।’

अपराध अनुसन्धानमा कल डिटेल नै प्रहरीको प्रमुख आधार हुँदै आएको छ । तर, भनेको समयमा कल डिटेल नआउँदा अपराधी भागिसक्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्