आन्तरिक उडानका लागी ५ जहाज किन्ने तयारी
नेपाल एयरलाइन्सले आन्तरिक उडानका लागि पाँच नयाँ जहाज खरिद गर्ने तयारी गरिरहेको छ । ३ वर्षअघि नै बनाइएको व्यापारिक योजना थन्काएर नेपाल एयरलाइन्सले फेरि आन्तरिक जहाज खरिदको योजना बनाइरहेको छ ।
एयरलाइन्सको इन्जिनियरिङ र कमर्सियल विभागले जहाज खरिदको योजना बनाइरहेका छन् । योजना निर्माण तथा छलफलमा सहभागी अधिकारीहरूका अनुसार तत्कालका लागि पाँच वटा जहाज किन्नुपर्ने निष्कर्ष निकालिएको छ ।
‘ट्रंक रुटमा उडान गर्नका लागि कम्तिमा २ ओटा ठूला जहाज चाहिन्छ र दुर्गम क्षेत्रमा उडान गर्नका लागि ३ जहाज चाहिन्छन् । तर यो हाम्रो प्राविधिक विश्लेषण हो । यो कुरा अर्थमन्त्रालय वा भनौ प्रधानमन्त्रीसम्मै पुग्ने भएकाले यसको र्निक्यौल पछि होला’ योजना निर्माणमा सहभागी एक अधिकारीले भने ।
नेपाल एयरलाइन्सले चीनबाट ल्याएका जहाज नउडाउने निर्णय गरेपछि अहिले आन्तरिक उडानका लागि जम्मा ३ जहाजमात्र बाँकी छन् । ती पनि पुराना भएको भन्दै व्यावसायिक रुपमा उडान योग्य नभएको एयरलाइन्सका अधिकारीहरुले बताउँदै आएका छन् ।
पाँच जहाज खरिद गर्नुपर्ने प्राविधिक राय भएपनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने तत्काल दुर्गम क्षेत्रमा उडान गर्ने जहाज खरिद गर्ने र दोस्रो चरणमा ट्रंक रुटमा उडान गर्ने जहाज खरिद गर्नुपर्ने भन्दै आएको छ ।
बुधबार मन्त्रालयमा भएको छलफलमा मन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्सका अधिकारीहरूलाई निर्देशन दिंदै तत्काल दुर्गम क्षेत्रमा उडान गर्नका लागि जहाज खरिद गर्ने योजना बनाउन निर्देशन दिएका थिए ।
दुर्गममै उडान गर्न मिल्ने ३ थान ट्विनटर भएको एयरलाइन्सले ट्रंक रुटमा अरू एयरलाइन्सका ७२ सिटे जहाजसँग प्रतिस्पर्धा गर्नका लागि कम्तिमा सोही क्षमताका जहाज किन्नुपर्ने भन्दै प्रारम्भिक प्रतिवेदन तयार भइसकेको छ । यी सबै जहाज किन्नका लागि कम्तिमा ९ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ ।
जहाज खरिदका लागि नेपाल एयरलाइन्स, पर्यटन मन्त्रालय भन्दा पनि अर्थमन्त्रालय मुख्य भुमिकामा हुन्छ । अथवा प्रधानमन्त्री केपी शर्मा ओलीले अनुमति नदिंदासम्म जहाज खरिदको सम्भावना भने छैन ।
आफै जहाज खरिद गर्नसक्ने क्षमतामा नेपाल एयरलाइन्स छैन । उसले ऋण लिनुपर्छ । ऋण लिनका लागि नेपाल सरकार जमानी नबसे जहाज खरिद संभव हुँदैन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्