भोजभतेरमा रक्सी निषेध, रक्सी किन्ने उमेर २१ बर्ष
स्वास्थ्य मन्त्रालयले राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति ०७३ मार्फत सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रमहरु मदिरारहित गर्ने कडा नीती लागु गर्ने भएको छ । सरकारी तथा सार्वजनिक निकायबाट आयोजना हुने कार्यक्रमहरुमा मदिराजन्य पदार्थको प्रयोग तथा वितरणमा रोक लगाइने नीतिमा उल्लेख छ ।
त्यस्तै विहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म फुटकर मदिरा खरीद बिक्री गर्न नपाउने व्यवस्था गरिने भएको छ । मन्त्रिपरिषदबाट सोमबार पारित गरिएको नौ बुँदे उक्त नीतिमा फुटकर मदिरा क्रेतालाई एक दिनमा कम्तीमा एक लिटरभन्दा बढी खरीद बिक्री गर्न नपाउने व्यवस्था गरिने उल्लेख छ ।
त्यस्तै, २१ वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई मदिरा खरीद, बिक्री र सेवन गर्न निषेध गर्ने, त्यसको सूचना टाँस गर्ने लगायतका प्रवद्र्धनात्मक व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ । सरकारले मदिराको हानिकारक सेवनलाई न्युनीकरण गर्न राष्ट्रिय मदिरारहित दिवस मनाउने नीति समेत लिएको छ ।
मदिराको बोतलको कम्तीमा ७५ प्रतिशत भागमा मदिरा सेवनको कारणले सिरोसिस भएको कलेजो वा मुटुरोगको चित्र र ‘मदिरा सेवन स्वास्थ्यका लागि हानीकारक छ’ भन्ने चेतनामुलक स्वास्थ्य सन्देश उल्लेख गरेको हुनुपर्ने छ । बोतलमा मदिरा उपभोग गर्ने अन्तिम मिति र मदिराको गुणस्तर समेत जनाउनुपर्ने छ ।
त्यस्तै, छापा तथा विद्युतीय सञ्चार माध्यम, इन्टरनेट, इमेल, होडिङ्गबोर्ड लगायतका कुनै पनि सञ्चार माध्यम वा तरीकाबाट मदिराको उत्पादन, बिक्री वितरण र सेवन प्रवद्र्धन र बजारीकरण गर्ने सम्बन्धी सूचना, चित्र, सन्देश, सामग्री विज्ञापन, प्रयोजन वा समाचार प्रकाशन र प्रसारण कार्यलाई निषेध गरिनेछ ।
टेलिभिजन तथा चलचित्रमा प्रचार प्रसार हुने कुनै पनि कार्यक्रममा ब्राण्ड वा लोगो झल्किने गरी मदिराको प्रवद्र्धन, विज्ञापन तथा प्रचारप्रसार गर्ने कार्य निषेध गरिने, कुुनै पनि सार्वजनिक स्थलमा मदिरा उत्पादन र बिक्री वितरण गर्न नपाउने, मदिराको बिक्री वितरणको लागि अनिवार्य लाइसेन्स लिनुपर्ने व्यवस्था मिलाइने नीतिमा उल्लेख छ ।
त्यस्तै, कुनै पनि सार्वजनिक, पर्यटकीय, खेलकुद, मनोरञ्जनात्मक तथा धार्मिक, पुरातात्विक, ऐतिहासिक स्थलहरु तथा नेपाल सरकारले आवश्यक ठानेका ठाउँहरुमा मदिरा उत्पादन, बिक्री वितरण र सेवन निषेधित क्षेत्र तोक्ने व्यवस्था गरिने नीतिमा उल्लेख छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्