सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

साबधान ! तपाईलाई पनि सहकारीले किर्ते गरी ठग्लान

नियामक सरकारी निकाय सहकारी विभागले गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी तथा ऋणी नारायणप्रसाद राई र उनकी पत्नी शोभा राईबीचको हरहिसाब नगरिदिँदा राईदम्पतीको घरबासै उठेको छ ।

विभागले अदालत तथा सहकारी बोर्डले दिएको आदेशसमेत पालना नगर्दा गोरखा सहकारीले तीन रोपनी ५ आना जग्गा जफत गरेपछि राईदम्पतीको घरबास उठेको हो । उक्त सहकारीले किर्ते कागज बनाएर ठगेको आरोप राईदम्पतीले लगाएका छन् ।

राईदम्पतीले भने–‘हामीले ऋण चुक्ता गरिसकेका छौं । अँझै पनि कानुनले थप रकम तिर्नुपर्ने देखाएमा दाखिला गर्छौं ।’ यति भन्दाभन्दै पनि ललितपुर नखिपोट कान्तिपुर कोलोनीनजिकको ३ रोपनी ५ आना जग्गा सहकारीले जफत गरेको छ ।

उक्त सहकारीबाट शोभा राईका नाममा रहेको ललितपुर उपमहानगरपालिका वडा नं ५ को २१, २२ र १००९ कित्ता नम्बरको जग्गाबाट २९ लाख २५ हजार ऋण लिएकी थिइन् भने नारायण राईले १००७, १३०९, १३१०, १३१३ नम्बरको कित्ताबाट १७ लाख ऋण लिएका थिए ।

उनीहरूले क्रमशः २०६७ कात्तिक ११ गते र २०६८ चैत १२ गते ललितपुर मालपोत कार्यालयमा जग्गा दृष्टिबन्धक र सहकारीको रोक्का गराएर उक्त सहकारीबाट ऋण लिएका हुन् । राई दम्पतीले लिएको जम्मा ऋण ४६ लाख २५ हजारमा पटकपटक गरी ४८ लाख ३६ हजार ५ सय ६१ रुपैयाँ सहकारीलाई बुझाइसकेका छन् ।

ऋण तिरेको भौचर राईदम्पतीसँग छ । तर लिएको ऋण तिरेर अन्य हिसाब बाँकी भएमा तिर्छु भन्दाभन्दै सहकारीले करिब ६ करोड रुपैयाँको जग्गा जफत गरेको छ । गोरखा सहकारीले मालपोत कार्यालयमा दृष्टिबन्धक राखिएको शोभा राईका नाममा रहेको उक्त कित्ता नम्बरको सोही जग्गामा २०६८ चैत १२ गते ५७ लाख ४६ हजार रुपैयाँको कागज तयार पारेको छ ।

नारायण राईका नाममा रहेको सहकारीले रोक्का गरेको जग्गामा पनि १७ लाखको सट्टा ४१ लाख ५० हजार रुपैयाँको तमसुक बनाएको छ । राईदम्पतीले तिरेको ऋणको कुनै हिसाब छैन । सहकारीले यी दुवै ऋण अनि यसको ब्याज, अदालतमा लागेको खर्च, हर्जना समेत गरी राईदम्पतीको ३ रोपनी ५ आना जग्गा एक करोड २४ लाख रुपैयाँमा सकारेको छ ।

जब कि सहकारीले नै बनाएको तमसुक र कागजको रकम जोड्दा पनि ९८ लाख ९६ हजार रुपैयाँ मात्र तिर्नुपर्ने देखिन्छ । राईदम्पतीले सहकारीबाट लिएभन्दा बढीको किर्ते कागज तयार पारेको र उनीहरूले विभिन्न समयमा बुझाएको दुरुस्त हिसाब नदेखाएको आरोप लगाएका छन् ।

खाली कागजमा सही गराएर सहकारीले ऋण बढाएको राईदम्पतीले बताए । सहकारीले भनेकै जति रकमको सावाँ ब्याजसमेत गरी ८९ लाख ३१ हजार रुपैयाँ पनि आफू तिर्न तयार भएको शोभा बताउँछिन् । सहकारीले राई पत्नीलाई खाली कागजमा सहीछाप गराएर थप ५७ लाख ४६ हजार रुपैयाँको भार बोकाएका छन् ।

बज्र इन्जिनियरिङ कन्सल्टेन्सीले २०७१ मा गरेको मूल्यांकनअनुसार उक्त जग्गाको मूल्य एक करोड २४ लाख ७७ हजार रुपैयाँ छ जब कि २०६७ सालमै उक्त जग्गाको मूल्य आनाकै ७ लाख रुपैयाँ थियो ।

राईदम्पतीले ऋण तिरेको प्रमाणित रसिदसहित सहकारीले ठगी गरेको पर्याप्त प्रमाण लिएर ललितपुर जिल्ला अदालत पुगे पनि न्याय पाउन सकेनन् । अहिले उनीहरूको मुद्दा पुनरावेदन अदालतमा छ, जग्गा भने सहकारीसँग ।

गोरखा सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका अध्यक्ष इमानसिंह राईले भने नारायणदम्पतीको ऋण तथा ब्याज, हर्जना, जरिबाना सबै जोड्दा १ करोड ६४ लाख रुपैयाँ पुगेकोमा ४० लाख छुट गरिदिएर एक करोड २४ लाख ७७ हजार रुपैयाँमा उक्त जग्गा सकारेकोे बताए ।

उनले भने–‘हामीले कुनै किर्ते कागज बनाएका छैनौं’, उनले भने, ‘कानुनसम्मत तथा नियम र्पुयाएर जग्गा सहकारीले लिएको हो ।’ अहिले पनि उक्त रकम तिरेमा जग्गा फिर्ता गर्ने उनले बताए ।

शोभा राईले ५७ लाख ४६ हजार रुपैयाँ ऋण लिएको अध्यक्षले बताए पनि राईले भने आफूले २९ लाख २५ हजारभन्दा बढी ऋण नलिएको र खाली कागजमा सही गर्न लगाएर सहकारीले ठगेको गुनासो गरिन् ।

‘हाम्रो सहकारीको यस्तै चलन छ । पेपरमा सही गरेर पैसा लैजानुस् भने’, उनले भनिन–‘मैले उनीहरूको विश्वासमा पर्दा ऋण लिएको करिब चार वर्षपछि मात्र आफ्नो नाममा त्यति ऋण पुगेको थाहा भएको हो ।’

राईदम्पती स्कुल सञ्चालक हुन् । सहकारीका अध्यक्ष राईकी छोरी पनि उनैको स्कुलमा पढ्ने गर्छिन् । अभिभावक भनी विश्वासमा पर्दा सम्पत्ति गुमाउनुपरेको उनले बताइन् ।

जिल्ला अदालत ललितपुरले हरहिसाब मुद्दालाई आधार मानेर अन्य मुद्दालाई यथास्थितिमा राख्दा पीडितले न्याय नपाएको अवस्था छ । लिखत दर्ता बदर, जालसाजी लगायत कुनै मुद्दा पनि जिल्ला अदालतमा सुनुवाइ भएन ।

हरहिसाबका लागि सहकारी विभाग वा अधिकार सम्पन्न अन्य सम्बन्धित निकायसमक्ष जान जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञवालीको फैसला आदेश छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्