नामावली संकलन बन्द, छुटेकाले भोट हाल्न नपाउने
स्थानीय निकायको निर्वाचनको घोषणासँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य रोकेको छ । निर्वाचन आयोगले १८ बर्ष उमेर पुगे पनि फागुन ९ गतेभित्र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका नागरिकलाई मात्रै आगामी निर्वाचनमा भाग लिन दिने निर्णय गरेको छ ।
आयोगको निर्णयबारे प्रमुख आयुक्त अयोधीप्रसाद यादवले भने–‘फागुन ९ गतेसम्म १८ बर्ष उमेर पूरा भएकालाई मात्रै मतदानमा भाग लिन दिने निर्णय भएको छ । तर, यसका लागि उसको नाम फोटोसहितको मतदाता नामावलीमा यसअघि नै दर्ता भएको हुनुपर्छ ।’
मंगलबार बसेको आयोगको बैठकले त्यस्तो निर्णय गरेको हो । यसअघिका निर्वाचनमा भने निर्वाचन मिति घोषणापछि अभियानको रुपमा केही समय मतदाता नामावली संकलन गर्ने गरिएको थियो । यसपटक भने आयोगले निर्वाचनको मिति घोषणा गरेकै दिनबाट मतदाता नामावली संकलन बन्द गरेको हो ।
अब ०७३ साल फागुन ९ गतेसम्म १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नाम लेखाइसकेका नेपाली नागरिकले मात्र बैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा मतदान गर्न पाउनेछन् । निर्वाचन तयारीका लागि पर्याप्त समय बाँकी नरहेकाले यस्तो निर्णय गरिएको आयुक्त नरेन्द्र दाहालले बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्