कोरीयामा १० हजार २ सय कामदार माग, चैत ९ देखि फारम
दक्षिण कोरियाले आगामी वर्ष नेपालबाट इपीएसमार्फत १० हजार २ सय कामदार लैजाने भएको छ । इपीएस कोरिया शाखालाई कोरियाको मानव संशाधन विभाग (एचआरडी) ले १० हजार २ सय कामदारको कोटा छुट्याइएको जानकारी गराएको छ ।
अबको वर्ष परीक्षा दिनेमध्येबाट ६ हजार २ सय कृषिमा र ४ हजार कामदार उत्पादनमूलक क्षेत्रमा छनोट गरिने इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिएका छन । नेपालको आग्रहलाई स्वीकार्दै कोरियाले १० हजार बढी कामदर लैजान सहमति जनाएको निर्देशक खतिवडाले बताएका छन ।
यो वर्ष ३५ सय कामदार मात्रै इपीएसमा पास भएका थिए । यो वर्षका लागि इपीएसले ३१ सय कामदारको कोटा छुट्याएको थियो । कामदारको कोटा बढेकाले यो वर्ष कोरियन भाषा पढ्ने धेरैलाई उतिर्ण हुन अघिल्ला वर्षहरुको तुलनामा सजिलो हुनेछ ।
रोजगार अनुमति प्रणाली (इपीएस) अन्र्तगत सन् २०१८ को कोरियन भाषा परीक्षाको फारम चैत ९ गतेदेखि अनलाईन मार्फत खुला हुनेछ । चैत ९ देखि १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम भर्ने मिति तय गरिएको छ ।
वैदेशिक रोजगार विभाग अन्र्तगतको इपीएस कोरिया शाखाले यस्तो फारम भर्ने अनलाइन प्रणाली विकास गरिसकेको छ । शाखाले आफ्नै स्रोतबाट खर्च गर्ने गरी गतवर्ष नै अनलाइन प्रणाली विकास गरेको थियो तर, परीक्षण नसकिँदा प्रयोग गर्न सकिएको थिएन ।
अनलाइन फारम भर्ने सुबिधाले रातभर लाइन बस्नु पर्ने बाध्यता हट्नेछ । रोजगारीका लागि कोरीया आकर्षक गन्तव्य भएका कारण धेरै आवेदन पर्ने गरेको छ । गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए ।
अनलाइनमा फारम भर्न तोकिएका बैंकमा आवेदन शुल्क भने पहिले नै बुझाउनु पर्नेछ । बैंकबाट रकम जम्मा गरेको कोड राखेपछि मात्रै अनलाइन फारम भर्न सकिनेछ । साथै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य हुनुपर्नेछ । गतवर्षदेखि नै विभागले एमआरपी अनिवार्य गरेको थियो । इपीएस परीक्षा जेठको अन्तिम साता हुनेछ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्