हर्षोल्लासका साथ मनाए ल्होसार जापानवासी शेर्पाले
शेर्पा संघ जापानले मे मो च्या लो २१४४ (चरा बर्ष) ग्याल्पो ल्होसार भव्यताका साथ मनाएको छ । शेर्पा संघले टोक्योको सिबाउरा स्थित मन्दिर रेष्टुरेन्टमा शुभकामना आदानप्रदान तथा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरी ल्होसार मनाएको हो ।
कार्यक्रममा आईसीसी मेम्बर ओम गुरुङ्ग, गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष सुदन थापा, मगर संघ जापानका अध्यक्ष दिपक बुर्जा मगर, थकाली सेवा समितिका सरद गौचन, मनाङ्ग सोसाईटी जापानका केसाङ्ग लामा, किरात राई समाजका रमेश राई, नेवा अन्र्तराष्ट्रिय मञ्चका राजन प्रधानांग अतिथिका रुपमा आमन्त्रित थिए ।
शुभकामना आदानप्रदान तथा सांगितीक कार्यक्रममा टोक्यो क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदाय र गैर शेर्पा नेपालीको बाक्लो उपस्थिति थियो । ल्होसारको शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि पासाङ्ग शेर्पाले कार्यक्रमले जापानमा रहेका आम नेपालीहरुबीच सौहार्दता र सामिप्यता बढाएको बताएका थिए ।
गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष सुदन थापाले शेर्पा संघको ल्होसार बिशेष कार्यक्रमले जापानमा रहेका नेपालीहरुबीच अँझै एकता र भातृत्व बृद्धि हुने बिश्वास व्यक्त गरेका छन । आईसीसी मेम्बर ओम गुरुङ्गले पनि शुभकामना मन्तव्य राखेका थिए ।
ल्होसार बिशेष कार्यक्रममा आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष पासाङ्ग शेर्पा प्रमुख अतिथि थिए । शेर्पा संघ जापानका अध्यक्ष ल्हाक्पा गेलु शेर्पाको सभापतित्वमा भएको कार्यक्रमलाई दावा शेर्पाले सञ्चालन गरेका थिए । स्वागत मन्तव्य छोंबो शेर्पाले राखेका थिए ।
औपचारीक कार्यक्रमको समापनपछी कलाकारहरु छिरिङ याङ्गजोम शेर्पा, विरेन्द्र विष्ट, असविर तामाङ्ग, कर्म दोङ्ग लगायतले आफ्नो सांगितिक प्रस्तुति राखेका थिए । त्यसैगरी अन्य कलाकारहरुले शेर्पा शेलो गितका साथै मौलिक नेपाली गितहरुमा नृत्य प्रस्तुत गरेका थिए ।
आयोजक शेर्पा संघ जापानले कार्यक्रममा कलाकारहरुलाई सम्मान तथा प्रसंशा पत्र प्रदान गरेको थियो । कार्यक्रममा एभरेष्टवाल डट कम, डिसिनेपाल, समता, समायोजनखबर मिडिया पार्टनरको रुपमा थिए भने भिडियो वाल युट्युब पार्टनर थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्