सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

न्युरोडका व्यापारी अपहरणमा संलग्न युवतीको हत्या

व्यापारी अपहरणमा संलग्न भएको आरोपमा प्रहरीको खोजीको सूचीमा रहेकी युवती मृत अवस्थामा भेटिएकी छन् । उनको हत्या भएको प्रहरीको आशंका छ । भक्तपुरको मुहानपोखरीमा गाडेको अवस्थामा धादिङ, धार्के घर भएकी राधिका सुनुवार श्रेष्ठको शव शनिबार भेटिएको हो ।

पानीको मुहानका लागि खाल्डो खनिएको ठाउँमा श्रेष्ठको शव भेटिएको भक्तपुरकी प्रहरी प्रमुख एसपी किरण रानाले बताइन् । स्काभेटर लिएर माटो खन्न त्यहाँ गएका एक व्यक्तिले माटोको थुप्रोमा हात देखेपछि प्रहरीलाई खबर गरेका थिए । आइतबार परिवारले मृतकको सनाखत गरी जाहेरी दिएको एसपी रानाले बताइन् ।

सम्झनाले भेट्न बोलाएपछि मखनमा सारी पसल चलाउँदै आएका न्युरोडका श्यामसुन्दर अग्रवाल गत ४ फागुनमा होटेल गएका थिए । त्यस क्रममा होटेलमा रहेका तीन युवकले उनलाई नियन्त्रणमा लिइ हाटखुट्टा बाँधेर पैसाको बार्गेनिङ गरेका थिए ।

घटना सार्वजनिक भएपछि प्रहरीले सम्झनाको खोजी गरिरहेको थियो । अपहरण अघिसम्म सम्झना अग्रवालकै पसलमा काम गर्थिन् । त्यसैले अपहरणकारीले सम्झनालाई प्रयोग गरी अग्रवालको अपहरण गरेको थियो । त्यसक्रममा अपहरणकारीले सुन्धाराको सनराइज गेस्ट हाउसमा ६ घण्टा बन्धक बनाइ नगद र चेक गरी करिब नौ लाख रुपैयाँ असुल गरेका थिए ।

७२ हजार रुपैयाँ नगद र आठ लाख रुपैयाँको चेक लिएपछि हातखुट्टा र मुखमा पट्टी बाँधिएकै अवस्थामा अग्रवाललाई होटेलको कोठामा थुनेर अपहरणकारी भागेका थिए । पछि कोठाभित्र ढकढक गरिएको आवाज आएपछि होटेलका कर्मचारीले ढोका खोल्दा अग्रवाल भेटिएका थिए ।

गिरोहका दुईजनालाई प्रहरीले पक्राउ गरिसकेको छ। मुख्य नाइकेहरु भने फरार छन । अग्रवालबाट लिएको आठ लाख रुपैयाँको चेक साट्न जाने क्रममा दुई युवकलाई प्रहरीले पक्राउ गरेको हो । घटनाबारे प्रहरीलाई बताइदिने डरले अपहरणकारी समूहले नै सम्झनाको हत्या गरेको प्रहरीको आशंका छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्