सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

राजबिराजमा प्रहरीको गोली लागी ३ जनाको मृत्यु

एमालेको मेची–महाकाली अभियानको विरोधमा उत्रिएको मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा सप्तरीको राजविराजमा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोर्चाका कार्यकर्ताले पेट्रोल बम प्रहार गरेपछी प्रहरीले गोली चलाएको थियो ।

स्थिति नियन्त्रण बाहिर गएपछी प्रहरीले आत्मरक्षाका लागी गोली चलाएको दाबी गरेको छ । एमालेको मेचीमहाकाली अभियानको विरोधमा रहेका मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा मलेठ गाविस वडा नं २ बस्ने संजन मेहताको मृत्यु भएको हो । २० वर्षका मेहताको टाउकोमा गोली लागेको थियो ।

गजेन्द्र नारायण सिंह औधोगिक क्षेत्रमा आयोजिक सभामा बरिष्ठ नेता माधव कुमार नेपाल बोलिरहेकै समयमा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । राष्ट्रिय मधेश समाजवादी पार्टीका सचिव गजेन्द्र मण्डलका अनुसार सप्तरीको मलेठमा पान पसल गर्दै आएका संजन मेहताको मृत्यु भएको छ ।

त्यस्तै घाइते दुई जनालाई उपचारका लागि धरान लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । बाटोमा मृत्यु हुनेमा दिगम्बर यादव रहेका छन भने अर्का एक जनाको नाम खुल्न बाँकी छ । मृतकमध्ये एक जनाको पेटमा र एकजनाको छातीमा गोली लागेको छ । मृतकको शबलाई राजविराज फिर्ता ल्याइएको छ ।

बाँकी ४ जना घाईतेलाई उपचारका लागी धरानस्थित विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौ राउण्ड हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको थियो । मोर्चाका कार्यकर्ताले प्रहरी र एमालेको कार्यक्रमस्थलमा ढुंगा र पेट्रोल बम प्रहार गरेपछी गोली प्रहार गरेको प्रहरीले बताएको छ ।

अहिले पनि राजबिराजको अबस्था तनावग्रस्त छ । एमालेको कार्यक्रम सकिने बेलामा प्रदर्शनकारीले एमाले कार्यकर्ताको मोटरसाइकल जलाएका थिए भने एक दर्जन गाडीमा तोडफोड गरेका थिए । गोली एमालेको कार्यक्रम स्थलबाट करिव १०० मिटर पर चलेको थियो ।

एमाले शीर्ष नेताहरुको टोली कञ्चनपुरतिर लाग्न खोज्दा मधेसी मोर्चाका कार्यकर्ताले ठाउँठाउँमा अवरोध गरेका थिए । उनीहरुलाई हटाउन खोज्दा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच एकअर्कालाई लखेटा लखेट समेत भएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्