राजबिराज गोलीकाण्डमा मृत्यु हुनेको संख्या ४ पुग्यो
सप्तरीको राजबिराजमा एमाले जनसभा बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीच भएको झडपमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । झडपका क्रममा प्रहरीले चलाएको गोली लागी संजन मेहता, दिगम्बर झाँ, पिताम्बर मण्डल र आनन्दप्रसाद शाहको मृत्यु भएको छ ।
एमालेको मेची–महाकाली अभियान अन्र्तगत राजविराजमा भएको सभा विथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ताले गुलेली र पेट्रोल बमले आक्रमण गर्न थालेपछी सुरक्षाका लागी गोली चलाएको प्रहरीले दाबी गरेको छ ।
सुरक्षाकर्मीले मोर्चाका कार्यकर्तालाई रोक्न लाठी प्रहार, सयौँ सेल अश्रुग्याँस र रबरको गोली प्रहार गरेको थियो । मोर्चाका कार्यकर्ता उग्र बन्दै गएपछी स्थिति नियन्त्रणमा लिन बाध्य भएर गोली चलाउनु परेको सुरक्षाकर्मीको भनाई छ ।
सुरक्षाकर्मीले चलाएको गोली लागेर मलेठ–४ का २० वर्षीय संजन मेहताको मृत्यु भएको छ । उनलाई एमालेको कार्यक्रम स्थलबाट करिव १०० मिटर पर गोली लागेको थियो । टाउकोमा गोली लागेका मेहताको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यसैगरी लिमनका दिगम्बर झा र मलेठ–४ का पिताम्बर मण्डलको पनि गोली लागेर मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते भएका झाको उपचारका लागी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
पिताम्बर मण्डलको भने धरान पुर्याए लगतै निधन भएको थियो । गोली लागी घाईते भएका प्रसवनीका आनन्दप्रसाद साहको भने उपचारको क्रममा मृत्यु भएको हो । धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७ जनाको उपचार भइरहेको छ ।
गोलीकाण्डको घटना लगत्तै आकस्मिक बैठक बसेर एमालेले आफ्नो मेची–महाकाली अभियान तीन दिनका लागी स्थगित गरेको छ । त्यसैगरी मधेसी मोर्चाले २४ र २५ गते मधेष बन्दको घोषणा गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्