सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

राजबिराज घटना; ‘एमाले नेतृत्वको सामुहिक हत्या प्रयास’

प्रमुख विपक्षी दल नेकपा एमालेले राजविराजमा भएको घटनालाई आफ्नो पार्टीका शीर्ष नेताहरुको सामूहिक हत्या गर्ने प्रयास भएको दाबी गरेको छ । आज काठमाण्डौमा बिशेष पत्रकार सम्मेलन आयोजना गर्दै एमालेले तीन जनाको ज्यान जानेगरी राजबिराज घटनाको सम्पुर्ण जिम्मेवारी मोर्चाले लिनुपर्ने बताएको छ ।

एमालेले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको भूमिका माथी प्रश्न उठाएको छ । एमालेको मेची–महाकाली अभियान विथोल्न प्रदर्शनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार राजविराजमा भएको झडपमा गोली लागेर तीन जनाको मृत्यु भएको थियो ।

राजबिराज घटनापछि अभियान ३ दिनका लागी स्थगित गरेर काठमाडौं आएका एमाले नेताहरुले मंगलबार(आज) पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेका हुन । पत्रकार सम्मेलनमा बाँडीएको विज्ञप्तीमा एमाले नेतृत्वको घेरा हालेर सामुहिक हत्या गर्ने प्रयास भएको दाबी गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ–‘सभा सम्पन्न भएर अभियानमा सहभागी पार्टीका नेता र कार्यकर्ताहरू राजमार्गतर्फ प्रस्थान गर्न लाग्दा घेरा हालेर आक्रमण गरेर नेतृत्वको सामूहिक हत्याको सुनियोजित प्रयाससमेत गरियो । यो नेपालको कुनै पनि भागमा कुनै पनि व्यक्ति र संगठनले शान्तिपूर्ण रूपमा सभा–सम्मेलन लगायतका गतिविधि गर्न पाउने नैसर्गिक अधिकारमाथिको निकृष्ट हमला हो ।’

एमालेले राजविराज घटना नेपाली समाजको सद्भाव र एकतालाई ध्वस्त गर्दै देशलाई संकटपूर्ण बनाउने सुनियोजित षडयन्त्र भएको बताएको छ । एमालेले सप्तरी घटनालाई नेपाली जनताबाट निर्वाचित सार्वभौम संविधानसभाले बनाएको नेपालको संविधानलाई कार्यान्वयन हुन नदिने, देशमा सामाजिक सद्भाव, एकता, शान्ति, स्थायित्व र विकास हुन नदिने षड्यन्त्र भएको बताएको छ ।

एमालेले आफ्नो मेची–महाकाली अभियानप्रति गृहमन्त्री निधिले बेला–बेला दिने गरेको अभिव्यक्ति र सोमबारको भूमिकाले उनीप्रति शंका उब्जाएको बताएको छ । र, यो घटनामा मन्त्री निधिले नैतिक उन्मुक्ति पाउन नसक्ने बताएको छ । एमालेले राजविराज घटनाको निश्पक्ष छानबिन गर्न मानवअधिकार आयोगसमक्ष माग गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्