साबधान ! यी फेसबुक आईडीबाट रिक्वेष्ट आउला
सामाजिक सञ्जाल फेसबुक प्रयोग गरेर नेपालमा ठगी बढ्दै गएको प्रहरीले जनाएको छ । फेसबुक प्रयोग गरेर ठगी गर्ने गिरोह पछिल्लो समय नेपालमा पनि सक्रिय भएको भन्दै महानगरीय अपराध महाशाखाले सचेत रहन सबैसँग आग्रह गरेको छ ।
भ्यालेन्टिनो स्मिथ, म्याक स्थिम, अप्रिल स्मिथ, भेलभेट नाम गरेका फेसबुक आइडीबाट ठगी भइरहेको भन्दै यी फेसबुक आइडी र नचिनेको मानिसहरुलाई साथी नबनाउन अपराध महाशाखाले अनुरोध गरेको हो ।
‘विदेशी नाम गरेका यी फेसबुक आइडीबाट ६० भन्दा बढि महिला प्राय ठगीमा परेको पाइयो,’ एसपी प्रकाशजंग कार्कीले भने, ’नचिनेका मानिसहरुलाई साथी बनाउँदा धेरै महिलाले लाखौं रुपैयाँ गुमाउनु परेको छ ।’
विदेशी नामबाट खोलेका फेसबुक आइडीबाट रिक्वेष्ट पठाउने, च्याट गर्ने, लामो समय कुरा गरेपछि उसको बानी व्यवहार पत्ता लगाउने र सोही अनुसारको व्यवहार देखाई ठगी भइरहेको कार्कीले बताएका छन ।
कतिपयसँग भारतबाट फोन गरेर आफन्त विरामी भएको नाटक गरेर पैसा माग्ने, कतिपयलाई आइफोन, घडी र महँगा उपहारको लोभ देखाएर ठगी गरेको भेटिएको एसपी कार्कीले बताएका छन ।
सहयोग गर्न चाहनेलाई भारतमा रकम पठाउन नेपालबाट मिल्दैन भन्दै नेपालीकै खाता दिने गरेको प्रहरीले पत्ता लगाएको छ । कार्कीले भने–‘फेसबुकबाटै बनाएको साथीलाई तपाईँको खातामा पैसा आउँछ, जम्मा गरेर मलाई पठाइदिनुस न है भन्दै ठगी गरेको पनि भेटियो ।’
प्रहरीले यस्तै प्रकृतिबाट ठगी गर्ने ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्लु स्काइ म्यानपावरका मुख्य संचालक प्रेम कटुवाल, सपना ढुंगाना, कृष्णा गुरुङ, रिता न्यौपाने, खेम मानन्धर र मोतिरमण भट्टराई रहेका छन् ।
नेपालबाट ठगीमा परेका महिलाहरुले सपना, कृष्णा, रिताको खातामा रकम पठाइदिएका थिए । उनीहरुको खातामा जम्मा भएको रकम ब्लु स्काइ म्यानपावरका लेखापाल मानन्धरको खाता हुदैँ कटुवालको खातामा जम्मा भएको प्रहरीले बताएको छ ।
विभिन्न लोभ देखाएर धेरै सोझा साझा गृहिणीहरु ठगीमा परेका छन, एसपी कार्कीले भने, अँझ धेरै फस्ने सम्भावना हँुदा सबै सचेत हुन आवश्यक छ ।
नचिनेको फेसुबक आइडीबाट रकम माग गरे, मागेको रकम पठाइदिएको भए, विभिन्न उपहार आउने लोभ देखाएर ठगी गरेको भए अपराध महाशाखामा गएर उजुरी गर्न प्रहरीले सबैसँग अनुरोध गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्