सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सप्तरी गोलीकाण्डको उपलब्धी; सदा झैँ देशले हार्यो

अहिलेसम्म मधेस–पहाड ध्रुवीकरणले एमाले र अध्यक्ष केपी ओलीलाई राजनीतिक फाइदा भएजस्तो देखिन्थ्यो । तर, सप्तरी काण्डपछि ‘मेची–महाकाली’ अभियानका लागि यो उपयुक्त समय थियो कि थिएन ? भन्ने प्रश्न पार्टी र अध्यक्ष दुवैमाथि उठ्यो ।

गोली सुरक्षाकर्मीले हाने, जनता मधेसी मारिए, तर जिम्मेवारचाहिँ एमालेको अभियान मानियो । मधेसमा भएको एमालेपङ्ति थप प्रतिरक्षात्मक भयो । मोर्चासँग बीचमा केही सुधारिएको एमालेको सम्बन्ध फेरि बिग्रियो ।

एमालेको अभियानमा कति जनता सहभागी भए भन्ने प्रश्न सप्तरीमा कति मारिए भन्ने प्रश्नको छायाँमा प¥यो । मधेसमा हावी देखिने मेची–महाकाली अभियानको उद्देश्य असफल र प्रत्युत्पादक भयो ।

एमालेलाई एउटै नाफा भयो, मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिन अल्टिमेटम दियो । सरकार र मोर्चाबीच दूरी बढ्यो । प्रधानमन्त्रीले गोली नहान भन्दाभन्दै गोली चल्यो । गृहमन्त्रीको असन्तुष्टि पनि बाहिर आयो ।

प्रदर्शनकारी मात्र होइन, कतै सरकारी सुरक्षातन्त्रमै त घुसपैठ थिएन भन्ने प्रश्न उठ्यो । सुरक्षा सतर्कता र समन्वयमा पनि सरकार कमजोर देखियो । मोर्चाले समर्थन फिर्ता लियो भने अल्पमतमा परिनहाले पनि संख्यात्मक र राजनीतिक रूपमा सरकार पहिलेभन्दा कमजोर भयो ।

आन्दोलन उठाउन आधार खोजिरहेको मोर्चालाई एमालेको अभियान वरदान साबित भयो, तर मोर्चा सरकारलाई दिएको समर्थन फिर्ता लिन पनि नसक्ने र साथ दिन पनि नसक्ने अवस्थामा पुग्यो ।

मोर्चाको सरकारसँग दूरी बढ्दै जाँदा सत्तारुढ गठबन्धनको तेस्रो ठूलो घटक राप्रपाको सत्तामा बार्गेनिङ पावर बढ्यो । मधेसको विखण्डकारी शक्तिलाई राज्यविरुद्ध जनता उक्साउन एउटा हतियार थपियो ।

मधेसीबहुल क्षेत्रमा चुनावबारे पहिल्यै पनि आशंका थिए । ती आशंका थपिए । मनोवैज्ञानिक दूरी अँझ बढ्यो । मधेस आन्दोलनमा अतिवादी तत्वले खेल्ने ठाउँ फराकिलो भयो र, सधैंजस्तै देशले हार्यो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्