नेपाली सेना बेईजिङ्गमा, चिनियाँ चासो नेपालमा
आगामी एक महिनाभित्र चीनको तीन उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्ने तय भएको छ । चिनियाँ रक्षामन्त्री, परराष्ट्रसचिव र कम्युनिस्ट पार्टीको एसिया मामिला हेर्ने उच्च अधिकारी काठमाडौं आउन लागेका हुन् । कूटनीतिक स्रोतका अनुसार उनीहरू सबै तीनदिने भ्रमणमा आउन लागेका हुन् ।
चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा प्रोपोगाण्डा प्रमुख लिउ छिपाओले ३ पुसमा तीनदिने नेपाल भ्रमण गरेका थिए । तीन दिनपछि तिब्बतको जनकंग्रेस प्रमुख बाइमा छिलिनले नेपाल भ्रमण गरेका थिए । उनीपछि नेपाल आउन लागेको यो नै उच्चस्तरीय प्रतिनिधिमण्डल हो ।
चीनको परराष्ट्र मामिलासम्बन्धी सहायकमन्त्री कोङ सुयान्यु ७ देखि ९ चैतसम्मका लागि नेपाल आउने तय भएको छ । परराष्ट्रसचिव शंकरदास वैरागीको औपचारिक निमन्त्रणामा दुईपक्षीय संयन्त्रको बैठकमा सहभागी हुन उनी आउन लागेका हुन् ।
नेपाल र चीनका परराष्ट्रसचिव स्तरीय कूटनीतिक परामर्श संयन्त्रको ११ औँ बैठकका लागि उनलाई परराष्ट्र मन्त्रालयले ११ पुसमा पत्र पठाएको थियो । चैत ८ मा हुने औपचारिक बैठकमा नेपाल–चीन सम्बन्धका राजनीतिक, आर्थिक, सांस्कृतिक विषयमा छलफल हुनेछ ।
नेपाल र चीनबीच भएका सबै सम्झौताको समीक्षा र भ्रमणहरूका विषयमा सो बैठकमा छलफल हुने कार्यक्रम छ । ‘बैठकमा नेपाल–चीन सम्बन्धका सबै विषयमा बृहत् छलफल हुन्छ,’ परराष्ट्रसचिव वैरागीले भने ।
नेपाल–चीन सैन्य अभ्यासको अन्तिम तयारी
नेपाल र चीनका सेनाबीच सैन्य अभ्यासको तयारी अन्तिम चरणमा पुगेको छ । सेनाको युद्धकार्य महानिर्देशनालयका प्रमुख उपरथी विनोद श्रेष्ठ नेतृत्वको टोली बेइजिङ पुगेर चिनियाँ जनमुक्ति सेनासँग सैन्य अभ्यासको मोडालिटीबारे छलफल गरेको छ । सैन्य टोली हाल बेइजिङमा छ ।
‘विपद व्यवस्थापन, माउन्टेनियरिङ अभ्यास लगायतमा अनुभव साटासाट गर्न चीनसँग सैन्य अभ्यास हुन लागेको हो,’ रक्षामन्त्री बालकृष्ण खाणले भने, ‘भूकम्पपछिको विपदमा नेपाली सेनासँग विभिन्न देशका सेनाले सहकार्य गरे, त्यस्तो अवस्थाको सामना गर्ने विषयमा सैन्य अभ्यासका क्रममा अनुभव आदानप्रदान हुन्छ । सेनाले यसबारे तयारी गरिरहेको जानकारी मलाई दिइएको छ ।’ चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले १४ पुसमा सैन्य अभ्यास हुने सार्वजनिक गरेका थिए ।
रक्षामन्त्री चाङको भ्रमण ११–१३ चैतमा
रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चीनका रक्षामन्त्री चाङ वाङक्वान ११–१३ चैतसम्म नेपाल आउँदै छन् । उनले रक्षामन्त्री खाणसँग १२ चैतमा औपचारिक दुईपक्षीय वार्ता गर्ने कार्यक्रम छ । नेपाल हुँदै श्रीलंका जान लागेका रक्षामन्त्री चाङसँग नेपाल र चीनबीचको रक्षा सम्बन्ध र नेपाली सेनालाई उपलब्ध गराउने चिनियाँ सहयोगसम्बन्धी छलफल हुनेछ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्