सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एमाले शिर्ष नेतालाई कर्तव्य ज्यान मुद्दा हाल्ने तयारी

चार जनाको ज्यान गरी भएको राजविराज गोलीकाण्डलाई लिएर सप्तरीका कानुन व्यवसायीहरुले एमालेका शीर्ष नेताहरु विरुद्ध मुद्दा हाल्ने निर्णय गरेका छन् ।

एमालेको मेची–महाकाली अभियान बिथोल्न खोज्ने मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार राजविराजमा भएको झडपमा ४ जनाको मृत्यु भएको छ ।

घटनामा सप्तरी बार एशोसिएसनका कोषाध्यक्ष दिगम्बर यादव पनि घाइते भएका छन् । उनको पेटमा गोली लागेको छ र वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

उच्च अदालत जनकपुरको इजलास राजविराज बार र सप्तरी जिल्ला वार इकाईको संयुक्त बैठकले एमाले नेतासहित तत्कालिन प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सिना, प्रहरी प्रमुख एसपी दिवेश लोहनीविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

उच्च अदालत जनकपुरको इजलास राजविराज बारका अध्यक्ष विजय यादवले एमाले नेताहरु, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकबिरुद्ध बिहीबार मुद्दा दायर गरिने बताएका छन ।

एमाले नेता, प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकको सहभागितामा गोली काण्ड भएको जिकिर गर्दै उनीहरु बिरुद्ध अंगभंग र कर्तव्य ज्यान सम्बन्धी मुद्दा हाल्ने बैठकको निर्णय छ ।

प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसहित अभियान अन्तर्गत सप्तरी आएका एमाले अध्यक्ष केपी शर्मा ओली, नेता माधव नेपाल र झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेताहरु सत्यनारायण मण्डल, सुमनराज प्याकुरेल, दिवाकर देबकोटाबिरुद्ध मुद्दा दर्ता गर्ने उनीहरुको तयारी छ ।

कानुन व्यवसायीहरुले एकल इजलासबाट सुनुवाई हुने रिट निवेदनको काम, बन्दी प्रत्यक्षीकरण र थुनछेकको आदेश तथा मुद्दाको अन्तिम हदम्यादका लिखत दर्ताबाहेकका काम स्थगित गर्ने निर्णय पनि गरेका छन् ।

बैठकले घटनाको छानबिनका लागि उच्च अदालत जनकपुरको इजलास राजविराज बार अध्यक्ष यादवको संयोजकत्वमा समिति गठन गरेको छ । समिति सहसंयोजकमा सप्तरी जिल्ला बार इकाईका अध्यक्ष रामप्रसाद चौधरी छन् भने डा. अशोकानन्द मिश्र, अधिवक्ताहरु श्यामनारायण साह लगायत सदस्य छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्