सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापान १ दशककै लामो आर्थिक वृद्धितर्फ उन्मुख

पछिल्लो समय विश्व अर्थतन्त्रमा आएको सुधारले यस वर्ष पनि जापानी अर्थतन्त्रमा स्थिर पुनर्बहाली कायम हुने देखिएको छ । बुधवार जापान सरकारले गतवर्षको अन्तिम त्रैमासको कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा सकारात्मक संशोधन गरेको छ ।

यो सँगै जापानी अर्थतन्त्र लगातार पाँचौ त्रैमासमा पनि बढेको छ । यो सन् २००६ को मध्य यताकै लामो आर्थिक वृद्धि हो । त्यतिबेला जापानी अर्थतन्त्र लगातार छैठौं त्रैमाससम्म बढेको थियो ।

अमेरिकामा ब्याजदर बढ्ने अपेक्षाले येन कमजोर रहने र यसले सीमापारका बजारमा जापानी वस्तुको प्रतिस्पर्धात्मक क्षमता बढाउने तथा निर्यात पनि बढ्ने सम्भावनाले कम्पनीहरूको मुनाफाले टेवा पाइरहेको छ ।

विदेशी माग धान्न म्यानुफ्याक्चरिङ क्षेत्रमा निरन्तर बढिरहेको लगानीले पनि यस वर्ष अर्थतन्त्रले टेवा पाउने अनुमान बढेको छ । जापानको श्रम बजारमा देखिएको अभावले तलब वृद्धि हुने र यसबाट घरपरिवारमा थप खर्च गर्न र कम्पनीहरू पनि घरेलु बजारमा उत्पादन बढाउन प्रेरित हुने सङ्केत भने धेरै पाइएको छैन ।

‘अर्थतन्त्रको परिदृश्यप्रति निराश हुनुपर्ने आवश्यकता नरहेको पछिल्लो तथ्याङ्कले देखाएको छ,’ टोकियोस्थित बीएनपी परिबासका वरिष्ठ अर्थशास्त्री हिरोशी शिराइशीले भने । विश्व अर्थतन्त्रमा आएको सुधारका कारण निर्यात र घरेलु उत्पादनमा भएको वृद्धिले जापान आर्थिक पुर्नबहालीतर्फ उन्मुख रहेकोसमेत उनले बताए ।

यद्यपि, स्थानीय स्तरमा भन्दा सीमापारका बजारमा व्यवसाय विस्तारलाई निरन्तरता दिइरहेका कम्पनीका कारण भने आर्थिक वृद्धिदर घट्न सक्ने चिन्ता क्यापिटल इकोनोमिक्स मार्सेल थेइलियाण्टले व्यक्त गरेका छन् । एजेन्सी

फेसबुकबाट कमेन्ट गर्नुहोस्