सप्तरी घटनाको देशब्यापी भण्डाफोर गर्दै एमाले
प्रमुख प्रतिपक्ष दल एमालेले राजविराज आक्रमणको देशव्यापी भण्डाफोर गर्ने निर्णय गरेको छ । एमालेले मेची–महाकाली अभियानका क्रममा सप्तरी सदरमुकाम राजविराजमा नेतृत्वको सामूहिक हत्या गर्ने योजना सहित आक्रमण भएको भन्दै देशव्यापी भण्डाफोर गर्ने निर्णय गरेको हो ।
बुधबार बसेको एमाले सचिवालय बैठकले राजविराज घटनाको भण्डाफोर जरुरी रहेको ठहर गरी सबै जिल्ला सदरमुकाममा आमसभा गरी घटनाबारे जानकारी गराउने निर्णय लिएको हो ।
राजविराज घटना र मेची–महाकाली राष्ट्रिय अभियानका बारेमा जानकारी दिन देशभरका सबै जिल्लामा आमसभा आयोजना गर्ने निर्णय बैठकले गरेको सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन ।
बैठकले आमसभाको मिति तय गरी कार्यक्रम गर्न सबै जिल्ला कमिटीलाई निर्देशन समेत दिएको छ । बैठकले राजविराज घटनाको विषयमा वास्तविक जानकारी गराउने उद्देश्यले आज (बिहीबार) काठमाडौंमा बृहत् कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ ।
भेलामा उपत्यकास्थित पार्टी सदस्य, मोर्चा संगठनका सदस्य र सम्पर्क कमिटीका सम्पूर्ण सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशनसमेत दिइएको छ । यसैगरी, अभियान पनि पूर्ववत् रूपमा सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।
राजविराजमा मधेसी मोर्चाका नाममा अवाञ्छित तत्वहरूद्वारा सिर्जित आपराधिक घटना र त्यसपछि उत्पन्न परिस्थितिको संवेदनशीलतालाई ख्याल गर्दै तीन दिनका लागि स्थगित मेची–महाकाली राष्ट्रिय अभियान भोलिदेखि हेटौंडाबाट पूर्ववत् रूपमा सुचारु हुने प्रस्ट पार्दै एमालेले सहभागी हुन अपिल गरेको हो ।
बैठकले आक्रमणको भण्डाफोर गर्न प्रदेश–२ स्तरीय विस्तारित अगुवा कार्यकर्ता भेला आयोजना गर्नुका साथै प्रदेश–२ अन्तर्गतका आठवटै जिल्लामा कार्यकर्ता भेला, जिल्लास्तरीय सभा गर्ने निर्णय गरेको छ । एमालेले जिल्ला–जिल्लामा भइरहेको अलोकतान्त्रिक एवं आपराधिक क्रियाकलाप रोक्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई चेतावनी पनि दिएको छ ।
एमालेले मोर्चाको आतंकले सीमा नाघेको भन्दै सुरक्षा व्यवस्था मिलाउनुका साथै आपराधिक कार्यमा संलग्नमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।
महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बुधबार बसेको सचिवालय बैठकले अलोकतान्त्रिक एवं आपराधिक क्रियाकलाप रोक्न र सुरक्षाको व्यवस्था मिलाउन माग गरेको हो ।
मधेसका विभिन्न जिल्लामा एमालेका पार्टी कार्यालय, नेता–कार्यकर्ता तथा सर्वसाधारणका घर, सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गरिएको, एमालेका नेता–कार्यकर्तालाई धम्की दिने, कुटपिट गर्ने, कालोमोसो दल्ने, घरबाट विस्थापित गर्नेजस्ता अमानवीय र अराजनीतिक कामहरू भइरहेको एमालेले जनाएको छ ।
एमालेले त्यस्ता अलोकतान्त्रिक र आपराधिक क्रियाकलापहरू अविलम्ब रोक्न चेतावनी दिँदै आफ्ना नेता–कार्यकर्ता र पार्टी कार्यालयहरूको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्