सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा रिफ्युजी र विद्यार्थीलाई पनि एनआरएन सदस्यता

 

गैर आवासीय नेपाली संघ (एनआरएनए)को चुनाव नजिकिँदै गर्दा जापानमा पनि चुनावी गतिबिधीले तिब्रता पाउन थालेका छन । गैर आवासीय नेपाली संघ जापानले आगामी अधिवेशनलाई मध्यनजर गर्दै सदस्यता वितरण देखि अधिवेशनसम्मको आफ्नो कार्यतालिका सार्बजनिक गरेको छ ।

आसन्न अधिवेशनलाई लक्षित गर्दै गैर आवासीय नेपाली संघ जापानले नयाँ तथा पुराना सदस्यको लागी आवेदन फाराम खुला गरेको छ । एनआरएनए जापानले आईतबार पत्रकार सम्मेलन गरी नयाँ सदस्यता र पुरानाको नविकरणका लागी आवेदन खुला गरिएको जानकारी गराएको हो ।

विगतमा विद्यार्थी भिसा भएकाहरुलाई एनआरएन सदस्यताको मान्यता नदिईएकोमा यसपटक देखि विद्यार्थीहरुलाई पनि प्रारम्भिक सदस्यको रुपमा सदस्यता खुला गरिएको एनआरएन जापानका अध्यक्ष सुदन थापाले एभरेष्टवाललाई जानकारी गराएका छन । थापाका अनुसार रिफ्युजी भिसा भएकाहरुले पनि एनआरएन सदस्यता लिन पाउनेछन ।

एभरेष्टवालसँग कुरा गर्दै थापाले भने–‘प्रारम्भिक सदस्यका रुपमा विद्यार्थीले पनि एनआरएन सदस्यता लिन पाउनेछन तर अध्यक्ष र आईसीसी सदस्यलाई भोट हाल्ने अधिकार भने विद्यार्थीलाई हुनेछैन ।’ थापाका अनुसार अध्यक्ष र आईसीसी सदस्य बाहेकका अरु पदाधिकारी र क्षेत्रिय समितिमा भने विद्यार्थीलाई भोटिङ्गको पुर्ण अधिकार हुनेछ ।

एनआरएनए जापानले जानकारी गराए अनुसार मार्च १२ देखि मे ३० सम्म सदस्यताको लागी आवेदन खुला गरिएको छ । तोकिएको समयसिमा भित्र जापानमा रहेका नेपालीहरुले नयाँ सदस्यता आवदेन भर्न पाउनेछन भने सदस्यता लिईसकेकाहरुले नविकरण गर्नुपर्नेछ ।

जुन ५ तारिखमा सदस्यहरुको पहिलो नामावली प्रकाशित गर्ने एनआरएनए जापानको कार्यतालिका छ । जुन ६ देखि ९ सम्म प्रकाशित नामावलीमा दाबी बिरोध गर्ने समयाबधी तोकिएको छ भने जुन १० मा अन्तिम नामावली प्रकाशित गरिनेछ ।

आगामी अगष्ट १३ मा एनआरएनए जापानको नयाँ कार्यसमितिका लागी अधिवेशन मिति तोकिएको छ । एनआरएन जापानले जुलाई १५ सम्म आफ्ना सम्पुर्ण क्षेत्रिय समितिको अधिवेशन गरिसक्नुपर्ने कार्यसुचि बनाएको छ ।

एनआरएन जापानले नयाँ सदस्यता र पुराना सदस्यको नविकरणका लागी स्मार्टफोन एप्लीकेसन समेत सार्बजनिक गरेको छ । एनआरएन जापानका अध्यक्ष सुदन थापाले एप्लीकेसनले जापानबासी नेपालीलाई आफ्नो समयानुकुल सदस्यता फाराम भर्न सहज हुने विश्वास व्यक्त गरेका छन ।

एनआरएन जापानले सार्बजनिक गरेको एप्लीकेसन आईफोनको एप्स स्टोरमा मात्रै उपलब्ध गराईएको छ । अन्य एण्ड्रोईड फोनमा यो एप्लीकेसन उपलब्ध छैन । त्यस्तै अगस्ट २४ मा तिज फेष्टिवल र २६ र २७ मा नेपाल फेष्टिवल गर्ने पनि एनआरएन जापानले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्