धनगढी महानगरको मेयरमा को–को छन त चर्चामा ?
स्थानीय तहको निर्वाचनको रमझमसँगै ७ नम्बर प्रदेशको एकमात्र उपहानगरपालिका धनगढीको मेयर को होला भन्ने बिषयले पनि चर्चा पाउन थालेको छ । सम्भाबित उम्मेद्वारहरुले नेतृत्व रिझाउन कार्यकर्ता परिचालन गर्न लागिसकेका छन् ।
७ नम्बर प्रदेशको राजनीतिलाई प्रभावित पार्ने धनगढीको नगरप्रमुख र उपप्रमुख बन्न दलभित्रै नेताहरुबीच चर्को दौडधुप र लविङ सुरु भएको छ । १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा वर्चस्व कायम गर्न मरिमेटेर लागेका दलहरु निर्वाचनमा हुनसक्ने आफ्नै पार्टीका नेताहरुको आन्तरिक मतभेद र अन्तर्घातबाट सशंकित छन् ।
कांग्रेस र एमाले एक-अर्काका प्रतिस्पर्धी भए पनि ती दलका उम्मेदवार भने आफ्नैभित्र अस्वस्थ प्रतिस्पर्धाको शिकार हुने खतरा पनि त्यत्तिकै छ । धनगढी ७ नम्बर प्रदेशको अघोषित राजधानी हो । यसको मेयर हुने व्यक्ति यस प्रदेशकै प्रभावशाली व्यक्ति हुनेछ । यस कारण पनि सबै पार्टीको ध्यान र ध्येय एउटै छ, जसरी पनि धनगढी कब्जा गर्ने ।
दोस्रो संविधानसभाको चुनावको बेला पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जितेको यो उपमहानगरपालिका रहेको क्षेत्रबाट उपनिर्वाचनमा पनि कांग्रेसकै पुष्करनाथ ओझाले जितेका थिए । ०५४ सालको नगर निर्वाचनमा एमालेले मेयर र उपमेयर दुवैमा जित हासिल गरेका कारण एमाले पनि कमजोर भने छैन ।
उपमहानगरपालिका बन्ने क्रममा एमालेको प्रभाव रहेको फूलबारी गाविस समेत थपिएका कारण आन्तरिक अस्वस्थ प्रतिस्पर्धाबाट आक्रान्त कांग्रेसका लागि चुनाव जित्न पहिले जस्तो सजिलो अवस्था भने छैन । करिब १ लाख ४७ हजार ७ सय ४१ जनसंख्या रहेको धनगढी उपमहानगरपालिकामा पछिल्लो पटक अत्तरिया नगरपालिकाको ९ र ११ नम्बर वडा गाभिएपछि कुल १९ वडा बनाइएको छ ।
धनगढीमा मेयरका लागि कांग्रेसबाट नगर सभापति नृप वड र महाधिवेशन प्रतिनिधि कृष्णबहादुर महरा प्रमुख प्रत्याशी हुन् । वड जिल्ला सभापति नरनारायण शाह मनु तथा महरा सांसद पुष्करनाथ ओझा निकट मानिन्छन् । दुवैजना नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट भए पनि स्थानीयस्तरमा भने फरक–फरक गुटमा छन् ।
पार्टी सभापतिसँग अरुभन्दा नजिक रहेको र विगतमा पनि पार्टी र जनताका पक्षमा राम्रो काम गरेकोले मेयरको टिकट पाउनेमा महरा विश्वस्त छन् । यद्यपि वड पनि आफूलाई पार्टी सभापति देउवाले टिकट दिनेमा ढुक्क छन् ।
मेयरको सम्भावित उम्मेदवारका रुपमा धनगढीका पूर्व मेयर स्वर्गीय किशोर बमकी पत्नी रिता भण्डारी बम र हरिश खड्काको नाम पनि चर्चामा छ । नेपाली कांग्रेस क्षेत्र नम्बर ६ का सभापति खड्का यसअघि वडा नम्बर १३ बाट निर्वाचित अध्यक्ष थिए ।
एमालेबाट मेयरका लागि पूर्व सभासद एवम् वैकल्पिक केन्द्रीय सदस्य नारदमुनि राना दाबेदारका रुपमा देखिएका छन् । उनी यसअघि यही नगरपालिकाको उपमेयर समेत भईसकेका छन् । धनगढी उपमहानगरपालिकामा राना थारु समुदायको बाहुल्य रहेकाले पनि उनको दाबेदारी हो ।
त्यस्तै, एमालेका जिल्ला सचिव रणबहादुर चन्द, प्रचार प्रसार विभाग सदस्य दुर्गाप्रसाद जोशी, केन्द्रीय सल्लाहकार दीपक देवकोटाको नाम पनि मेयरका रुपमा चर्चामा छ । यसका साथै एमालेका युवा नेता जीवन बमसँगै पुराना नेता नन्दलाल जोशीको नाम पनि चर्चामा छ ।
माओवादी केन्द्रबाट मेयरका आकांक्षीहरु पाँच जना देखिएका छन् । केन्द्रीय सदस्य एवम् दुई पटक समानुपातिक उम्मेदवार भईसकेका रामसमझ राना दाबेदारका रुपमा देखिएका छन् । त्यस्तै पार्टीका नगर अध्यक्ष निर्मल शाह, केन्द्रीय सदस्य राधाकृष्ण अधिकारी, केन्द्रीय सदस्य तिलकबहादुर सिंह, केन्द्रीय सल्लाहकार डिल्लीराज खड्काको नाम पनि चर्चामा छ ।
राप्रपाबाट गत संविधानसभाको चुनावमा उम्मेदवार बनेका राजेश भण्डारी मेयरमा आफूलाई दाबेदारको रुपमा प्रस्तुत गरिरहेका छन् भने नगर अध्यक्ष रोम स्वाँरको नाम पनि चर्चामा छ । त्यस्तै, पूर्व केन्द्रीय सदस्य पुष्कर भट्ट पनि दाबेदारका रुपमा देखिएका छन् ।
धनगढी नगरको चुनावी इतिहास हेर्दा ०४९ मा नेपाली कांग्रेसले जितेको थियो भने ०५४ मा एमालेले जित्यो । अहिले गाभिएका गाविसमध्ये फूलबारीमा एमालेको प्रभाव छ भने अन्यमा कांग्रेस बलियो छ । यद्यपि धनगढीमा अन्य दलको तुलनामा कमजोर रहेको राप्रपा नेपालको उर्मामा बलियो उपस्थिति छ ।
सम्भावित मेयरमा गोपाल हमालको नाम पनि चर्चामा
धनगढी उपमहानगरपालिकाको मेयरको सम्भावित उम्मेदवारका रुपमा सुदूरपश्चिमका अभियन्ता र कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोपाल हमालको नाम पनि चर्चामा छन् ।
निडर र कुशल व्यवस्थापक मानिने हमालले जितेमा धनगढीको मुहार फेरिनेमा युवा र खासगरी विकास प्रेमी ठूलो तप्काको विश्वास गर्छ ।
उनलाई आफ्नो पार्टीका तर्फबाट चुनाव लड्न नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र राप्रपा नेपालका केन्द्रीय सदस्य राजेश भण्डारीले समेत आग्रह गरेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्