सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रहरी हवल्दारको टोलीले दिनदहाडै सुन लुटेपछी

काठमाडौंको मरुहिटी स्थित एउटा सुन बनाउने कारखानामा एक हुल मान्छेहरु प्रवेश गरे । ति मध्ये केहीले प्रहरीको वायरलेस सेट, हत्कडी र पेस्तोल बोकेका थिए । काठमाडौं महानगरपालिका–१९ मरुहिटी स्थित प्रेम रत्न शाक्यको ५ तले घरको पहिलो तलामा भारतीय नागरीक शिव माइतीले संचालन गरेको सुन कारखाना प्रवेश गरेका ६ जना ब्यक्तिहरु मध्ये एउटाले भने, ‘केहो साहु जी, तस्करीको सुन बेच्ने ? हामी प्रहरी हौं !’

हत्कडी बोकेका र पेस्तोल भिरेका मान्छेलाई प्रहरी होईनन् भनेर अविश्वास गर्नु पनि कसरी ? शिव माईति लल्याक लुलुक भैहाले । महानगरीय प्रहरी वृत सोह्रखुट्टेमा कार्यरत प्रहरी हवल्दार बल बहादुर थापा, जवानहरु जनक ढकाल र अमित गुरुङ सहितका ६ जना लुटेरा समुहले उक्त कारखानाबाट ६४ तोला सुन लुटे, अनि प्रहरीकै रवाफ देखाएर हिँडे ।

यसरी देशको सेवा गर्ने कसम खाएर लुटपाटको कुकर्म गर्ने तिन प्रहरी मध्ये अमित गुरुङलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । ‘घट्नामा संलग्न तिन प्रहरी र अन्य तिन जना लुटेरा समुहका सदस्य मध्ये पाँच जनालाई नियन्त्रणमा लिईसकेका छौं’ महानगरीय अपराध महाशाखा प्रमुख (एसएसपी) दिनेश अमात्यले भने, ‘एक हवल्दार र एक जवान फरार छन, खोजिरहेका छौं ।’

लुटेरा समुहले सो कारखानाबाट करीब ३० लाख मुल्य बराबरको अन्दाजी ६४ तोला सुन लुटपाट गरेको अपराध महाशाखाले जनाएको छ । हत्कडी र पेस्तोल देखाएर उनिहरुले गहना बनाउन राखेको ३ ढिक्का सुन र बन्दै गरेको सुनका गर–गहना लुटपाट गरी फरार भएका थिए । घटनाबारे पुर्ण जानकारी प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्