बैशाख १ गतेदेखी काठमाण्डौमा हर्न निषेध
काठमाडौं उपत्यकाभित्र आगामी बैशाख १ गतेदेखि हर्न निषेध गर्ने तयारी गरिएको छ । काठमाडौं महानगरपालिका, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी लगायतका निकायहरुको संयुक्त पहलमा उपत्यकामा हर्न निषेध गर्न लागिएको महानगरका प्रमुख कार्यकारी इश्वरीराज पौडेलले जानकारी दिएका छन ।
ध्वनी प्रदुषण बढेको भन्दै त्यसलाई कम गर्न सरोकारवाला निकायहरुले नयाँ नियम ल्याएको पौडेलले जानकारी दिए । जथाभावी हर्न बजाएर बजार र बाटोलाई थप कोलाहल बनाउने प्रवृत्तिलाई निरुत्साहित गर्न नयाँ नियम ल्याइएको अधिकारीहरुले बताएका छन् ।
काठमाण्डौको चक्रपथ भित्र पहिलो चरणमा यो नियम लागु हुने छ । उपत्यकाको बाटोमा गुड्ने निजी ,सार्वजनिक र पर्यटकिय कुनै पनि सवारीसाधानले जाथाभावी हर्न बजाएमा ट्राफिक प्रहरीले कारबाही गर्ने पौडेलले बताए ।
बैशाख १ भन्दा अगाडिको समयमा जनचेतना फैलाउने, गाडीहरुमा स्टिकर लगाउने र हर्न नबजाउन प्रोत्साहित गर्ने कार्यक्रम रहेको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिएका छन ।
दुर्घटना हुँदैन भन्ने भ्रममा विद्यालय, अस्पताल जस्ता संवेदनशिल क्षेत्रमा पनि जथाभावी हर्न बजाउँदा चालकहरुले झन लापरबाही गरेकोले रोक्न भन्दै नयाँ नियम ल्याइएको कार्कीले जानकारी दिए ।
तर यो हर्न निषेधको नियम सबैतिर सबै अवस्थामा भने लागु हुने छैन । कार्कीका अनुसार सिधा बाटोमा र अगाडिबाट सवारी साधन देखिने ठाउँमा मात्र निषेध गरिने छ ।
मोड, कर्नर र अगाडि र विपरीत दिसाबाट आएका सवारी देख्न नसकिने ठाउँमा भने हर्न बजाउन छुट हुने छ । त्यस्तै एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकलले भने साइरन बजाउन पाउनेछन् ।
नियम उलंघन गर्ने चालकहरुलाई नियम अनुसार ट्राफिक प्रहरीले कारबाही गर्ने महानगरका कार्यकारी पौडेलले जानकारी दिएका छन । ‘अटेरी गर्ने कुनै चालकले नियम विपरीत हर्न बजाएमा ट्राफिकले तत्काल पाँच सय रुपैयाँ जरिवाना गन सक्नेछन ।’
त्यस्तै महानगरपालिकाले काठमाडौंका मुख्य सडकमा जेब्रा क्रसको साइन थप्ने भएको छ । प्रत्येक भीड हुने र आकाशे पुल नभएका सडकमा जेब्रा क्रस राखिने पौडेलले जानकारी दिए ।
सहरको यातायातलाई व्यवस्थित गर्नभन्दै महानगरले फुटपाथलाई पनि विस्तार गर्ने भएको छ । हाल कतिपय ठाउँमा अतिक्रमणमा परेको पुटपाथलाई संचालन गरिने पौडेलले बताए ।
सर्वसाधारणलाई हिडडुल गर्न सहज होस भनेर जेब्राक्रसदेखि फुटपाथसम्म व्यवस्थित गर्न महानगरले पनि छुट्टै टिम परिचालन गर्ने तयारी गरेको छ ।
कसैले पुटपाथ अतिक्रमण गरे त्यसलाई हटाउने, जेब्राक्रसको प्रयोग बारे यात्रुदेखि चालकसम्मलाई सचेत गराउनेसम्मका काम उक्त टिमले गर्ने छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्