दुनियाँमै पहिलो पटक टिभि हेर्ने नयाँ तरीका नेपालमा
कुनै समय थियो, टेलिभिजन च्यानल हेर्न अग्लो ठाउँमा एन्टेना राख्नुपर्थ्यो । अँझै पनि कतिपय दूर्गम क्षेत्रमा एन्टेना ठड्याउने प्रविधि कायम नै छ । अब यो पुरानो प्रविधिको टेरेस्ट्रियल टिभी नेपालमा नयाँ तथा स्तरीय प्रविधिका रुपमा आउने भएको छ ।
अब यस्तै एन्टेना वा टेलिभिजन कम्पनीहरुले विकास गरेका अन्य प्रविधिबाटै टिभीले च्यानलहरु रिसिभ गर्नेछ । नेपालमा अब सुरु हुन लागेको नयाँ टेलभिजन प्रविधि डिजिटल टेरेस्ट्रियल टेलिभिजन (डीटीटी) हो ।
टेरेस्ट्रियल नै भएपनि यसमा डीटीएचमा जस्तै टेलिभिजनका प्याकेज दिइनेछ । फरक यत्ति हुनेछ, अहिले एन्टेनाबाट सीमित च्यानल हेर्न सकिन्छ भने डीटीटी भित्र्याएपछि यही प्रविधिमा स्तरीय पिक्चर क्वालिटीमा थुप्रै च्यानलहरु प्याकेजमै हेर्न पाइने छ ।
टेरेस्ट्रियल प्रविधिको टेलिभिजन सञ्चालनका लागि अहिलेसम्म ५ वटा टेलिभिजन कम्पनीले सञ्चार मन्त्रालयबाट लाइसेन्स लिइसकेका छन् । अनुमति पाएकामध्ये केहीले प्रसारणको प्राविधिक तयारी समेत सुरु गरेका छन् ।
अब यी कम्पनीले टेरेस्ट्रियल प्रविधिबाटै विभिन्न टेलिभिजन च्यानल वितरण गर्नेछन् । तर, त्यो टिभी डिजिटल अर्थात उच्च गुणस्तरको हुनेछ । अब सिग्नल रिसिभ गर्ने विकसित नयाँ प्रविधि राख्दा एउटा च्यानल मात्रै होइन, सयौं च्यानल प्याकेजमै लिन सकिने छ ।
अहिले डीटीएचले टेलिभिजनको सिग्नल स्याटेलाइटबाट प्रयोग गरे जस्तै टरेस्ट्रियल प्रसारण गर्ने टेलिभिजनले फ्रीक्वेन्सीमार्फत आफ्ना सामाग्री प्रसारण गर्छन् । यसको रिसिभर एन्टेना, हाल डिटिएचले प्रयोग गरेजस्तो छाता वा अरु विकसित कुनै प्रविधि हुनेछ । यो प्रविधिलाई ‘डिजिटल भिडियो ब्रोडकाष्टिङ (सेकेन्ड जेनेरेसन टेरेस्ट्रियल (डीभीबी–टिटु)’ अर्थात दोस्रो पुस्ताको टेरेस्ट्रियल पनि भनिन्छ ।
अहिलेसम्म सरकारले हनी नेटवर्क प्रालि, युनिभर्सल नेटवर्क प्रालि, महाकाली डिजिटल नेटवर्क प्रालि, वायरलेस टेलिभिजन नेटवर्क र एमटीभी टेलिभिजन नेटवर्कलाई यो प्रविधिमा टेलिभिजन चलाउन अनुमति दिएको छ ।
सरकारले लाइसेन्स लिएको डेढ वर्षभित्र जसरी पनि सञ्चालनमा आइसक्नुपर्ने गरी अनुमति दिएको हो । एकवर्षको समयसीमा भएपनि थप ५ महिना भने प्राविधिक तयारी नपुग्दा थप गर्न सकिने प्रावधान छ । यो प्रविधिका लागि पनि टेलिभिजन प्रसारण अनुमति लिन १ करोड रुपैयाँ लाग्छ ।
नेपालमा सुरुवातमा टेरेस्ट्रियल प्रविधिकै टेलिभिजन हेरिन्थ्यो । त्यसपछि केबल र डीटीएचले बजार लियो । अहिले नेपालमा आईपीपी प्रविधिको टेलिभिजन पनि सञ्चालनमा आइसकेको छ । अब टेरेस्ट्रियलकै सेकेण्ड जेनेरेशन पनि बजारमा आउँदैछ । तर, डीटीएचसँग अब यसको पनि तीब्र प्रतिस्पर्धा हुने देखिएको छ ।
अहिले टेरेस्ट्रियलको अनुमति लिएका टेलिभिजनहरुले छुट्टाछुट्टै ब्याण्डमा ४०४० मेगाहर्ज फ्रिक्वेन्सीको सञ्चालन अनुमति पाएका छन् । यो प्रविधिमा पनि डिजिटल सिग्नलका लागि सेट–टप बक्स अनिवार्य गरिएको छ ।
यस्ता अनुमति लिएका टेलिभिजनले विभिन्न स्थानमा प्रसारण केन्द्रहरु राखेर आफ्नो सिग्नल प्रशारित गर्नेछन् । त्यसलाई ग्राहकको घरमा राखिएको टेरेस्ट्रियल सपोर्ट गर्ने प्रविधिले क्याच गर्नेछ र टेलिभिजन हेर्न सकिनेछ ।
डीटीटीले विभिन्न स्थानमा प्रसारण केन्द्र राखेर सिग्नल रिले गर्नेछन् । टेरेस्ट्रियलमा सबैभन्दा विकसिति प्रविधि नेपालले प्रयोग गर्न लागेको हो । सन् १९९० को दशकमै यसको पहिलो पुस्ताको विकास भएपनि धेरै देशमा यसको प्रयोग सुरु हुन सकेको थिएन ।
अब यसको दोस्रो पुस्ता भने डीटीएचको फैलँदो प्रविधिमा प्रतिस्पर्धीका रुपमा उदाउने क्रममा छ । इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आइटीयू) ले टेरेस्ट्रियलको दोस्रो पुस्ताको प्रयोगमा अनुमति दिएपछि २०१० पछि यसको प्रयोगमा ब्यापकता आएको छ ।
यसका सजिला पक्षहरुले ग्राहकलाई थप आकर्षित गर्नेछ । तर, टेलिभिजन प्रसारकले दिने सुविधामा नै यसको बजार निर्भर हुनेछ । यो फूल एचडी क्वालिटीको भिडियोयुक्त टिभी भएकाले धेरै रुचाइने अपेक्षा छ ।
यसले अडियो र भिडियोलाई डिजिटल क्वालिटीमा सम्प्रेषण गर्छ । यसले मल्टिप्लेक्स सिग्नल दिने भएकाले नै यो स्तरीय मानिन्छ । टिभी हेर्दा सफा दृष्य नआउने र कमजोर ध्वनी आउने लगायतका समस्या यो प्रविधिमा नरहने बताईएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्