बिषालु च्याउले पोखरामा एकै परिवारका तीनको मृत्यु
पोखरामा बिषालु जंगली च्याउ खाँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । नजिकैको जंगलबाट ल्याएको च्याउ खाएपछि बिरामी परेका पोखराको लामाचौरका तामाङ परिवारका तीन जनाको मृत्यु भएको हो । एक जनाको गम्भीर अवस्थामा राजधानीस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ ।
बिषालु च्याउको सेवनबाट ६० बर्षीया माइली तामाङ, उनकी कक्षा ११ मा अध्ययनरत १९ बर्षीया छोरी मनमाया तामाङ र माइली तामाङकी जेठी छोरीका कान्छा छोरा सोनम मगरको मृत्यु भएको हो । कान्ति बाल अस्पतालमा उपचार गराईरहेका १२ बर्षका आयुष मगर मृतक सोनम मगरका दाई हुन ।
कास्कीका डिएसपी खडग बहादुर खत्रीका अनुसार गत चैत १९ गते स्थानीय अकला मन्दिरको दर्शन गर्न गएका बेला मृतक मनमायाँले नजिकैको जंगलबाट ल्याएको च्याउ बेलुकी परिवारका चारै जनाले खाएका थिए । त्यसै दिनदेखि झाडापखाला लागेका उनीहरुले स्थानीय मेडिकलबाट पखालाको औषधि खाएर बसेको पाईएको छ ।
च्याउको बिषले गम्भीर असर गर्न थालेपछि उनीहरुमध्ये माइलीलाई मणिपाल शिक्षण अस्पताल, मनमायालाई गण्डकी मेडिकल कलेज र सोनमलाई चरक मेमोरियल अस्पतालमा भर्ना गरियो भने आयुषलाई काठमाडौं रिफर गरिएको थियो ।
माइली र मनमायाको उपचार गर्दै गर्दा अस्पतालमा हिजो साँझ मृत्यु भएको थियो भने सोनम मगरको भने आज मृत्यु भएको थियो । कान्ति बाल अस्पतालमा उपचार गराईरहेका आयुषको अबस्था पनि गम्भिर रहेको छ । उनको स्वास्थ्यमा अहिलेसम्म खासै सुधार देखिएको छैन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्