सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

धनुषामा हावाहुरीको बितण्डा, च्यापिएर महिलाको मृत्यु

धनुषामा शुक्रबार राति आएको हावाहुरीका कारण एक महिलाको मृत्यु भएको छ । राती २ बजेतिर तिव्र वेगमा चलेको हावाहुरीका कारण सहिदनगर नगरपालिका गोठकोयलपुर ९ बस्ने ६५ बर्षीया घकुल महराको मृत्यु भएको हो ।

महरा आफ्नै घरमा सुतिरहेको अवस्थामा हावाहुरीले घर भत्किँदा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । अबेर राति तिव्र वेगमा आएको हावाहुरीको समयमा घरबाट भाग्न नसकेपछि महिलाको मृत्यु भएको जनाइएको छ ।

हावाहुरीले धनुषामा सयौं घरको छाना, विद्यालयको छाना उडाएका छन् भने विद्युतको लाइनमा पनि क्षति पुगेको छ । विद्युतका पोल ढल्दा रातिदेखिनै सदरमुकाम जनकपुर लगायत जिल्लाका अन्य ठाउँहरुमा विद्युत आपूर्ति अवरुद्ध भएको छ ।

त्यसैगरी रेडियो जनकपुरमा ३ लाख बराबरको क्षति भएको छ । रेडियोको लागि राखिएको ११ वटा सोलारको प्लेट उड्दा ३ लाख बराबरको क्षति भएको सञ्चालक सितल साहले जनाएका छन् । क्षतिको पुर्ण विवरण आउन बाँकी रहेको धनुषा प्रहरीले जनाएको छ ।

 

फेसबुकबाट कमेन्ट गर्नुहोस्