सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

को हुन त नवनियुक्त आईजीपी प्रकाश अर्याल ?

 

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले वि.स.२०४४ साल चैत १९ गतेबाट प्रहरी सेवामा प्रवेश गरेका हुन । आईजीपी अर्याल वि.स.२०२० असार १४ गते दाङको त्रिभुवन नगरपालिका–११ मा जन्मिएका हुन् ।

अर्यालले रुपन्देही, मकवानपुर, कास्की, दैलेख, तेह्रथुममा प्रहरी प्रमुख भएर काम गरेको अनुभव छ । उनी अञ्चल प्रहरी कार्यालय रुपन्देही र मध्य क्षेत्रीय प्रहरी कार्यालय प्रमुख पनि भएका हुन । प्रहरी संगठनमा अर्याल कडा स्वभावका अधिकृतका रूपमा चिनिन्छन् ।

उनले स्नाकोत्तरसम्मको अध्ययन गरेका छन् । अर्याल २०६९ साल पुस ४ गते एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुख हुँदा उनले मिटर चलाउन नमान्ने, मनपरि भाडा असुल्ने, लेन मिच्ने चालकलाई कारबाही गर्ने अभियान चलाएका थिए ।

यही अभियानका कारण मिटर बिगारेर ट्याक्सी चलाउने प्रवृत्तिको बीचमा केही हदसम्म सुधार आएको थियो । अहिले फेरि खस्किएको देखिन्छ । तालिम लिने प्रहरी अधिकृतहरूमध्ये अर्याल पहिलो नम्बरमा पर्छन् ।

उनले अमेरिकामा एफबिआई तालिम लिएका छन् । त्यस्तै, सिनियर प्रहरी कमान्डो, विशेष व्यक्तिको सुरक्षा, मानवअधिकार, अपराध अनुसन्धान, अपराध व्यवस्थापन, प्रति आतंकवाद कमान्डो तालिम पनि उनले लिएका छन ।

त्यस्तै विपत व्यवस्थापन, प्रशिक्षक, प्रशिक्षण, जघन्य अपराधसम्बन्धी तालिम लिएका अर्यालले सिनियर म्यानेजमेन्ट र आतंकवाद अपराध अनुसन्धान र घटनास्थलसम्बन्धी तालिम पनि लिएका छन ।

उनले जागिरको अवधिमा अहिलेसम्म दुर्गम सेवा पदक, दैवीप्रकोप उद्धार सेवा, संयुक्त राष्ट्र संघ पदक पाइसकेका छन् । गद्धी आरोहण रजत पदक, प्रदेश सेवा पदक, प्रहरी सेवा पदक, गोरखा दक्षिणबाहु चौथो र वीरेन्द्र ऐश्वर्या सेवा पदक पनि उनले पाएका छन् ।

उनी सिआइबीमा रहँदा ३५ किलो सुन काण्डमा भने मुछिएका थिए । प्रहरी सेवामा रहँदा उनीमाथि लागेको दाग यही एउटा हो । सिआइबीमा रहँदा उनले भिओआइपीविरुद्ध अप्रेसन थालेका थिए भने आर्थिक अपराध अनुसन्धानलाई प्राथमिकता दिएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्